पब्लिक प्रेस ।
राजविराज । नेपालको संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेको स्मरणमा सप्तरीका विभिन्न स्थानमा हर्षोल्लासका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।
संविधान दिवसको अवसरमा कञ्चनरूप, राजविराज र हनुमाननगरलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरिएको छ।

यसै क्रममा राष्ट्रिय युवा संघ सप्तरीले राजविराजस्थित मदननगरमा रहेको पार्टी कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको हो। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज विकास यादवको नेतृत्वमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको महत्व र यसको कार्यान्वयनप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नेकपा एमाले सप्तरी जिल्ला उपसचिव दर्गानन्द झा, राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय कमिटी सदस्य चितरञ्जन यादव, राष्ट्रिय युवा संघका कार्यवाहक अध्यक्ष विकास इसर, नेकपा एमाले राजविराज नगर कमिटी अध्यक्ष रञ्जन झा तथा स्थानीय युवा नेता सञ्जीव दासलगायतको सहभागिता रहेको थियो।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। सहभागीहरूले संविधानले सुनिश्चित गरेका अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय एकताको संरक्षण तथा कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।










