मानवअधिकार

महिला सुरक्षा आवासलाई दिगो बनाउन अग्निसाइर कृष्णासवरणले बजेट छुट्याउने

 

पब्लिक प्रेस ।

 

सप्तरी, । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाले महिला सुरक्षा आवासलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ।

UNFPA को आर्थिक सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत बुधबार गाउँपालिकाको सभाहलमा आयोजित GBV Network Meeting तथा Exit Meeting मा गाउँपालिकाले यस्तो प्रतिबद्धता जनाएको हो।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा महिला सुरक्षा आवासको दिगोपना, आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन, परियोजना समाप्तिपछि लैङ्गिक हिंसा (GBV) रोकथाम तथा न्यूनीकरणका गतिविधिलाई निरन्तरता दिने विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, गाउँपालिकाको वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालय, मटिगढीमा सञ्चालित AFIC कार्यक्रमको व्यवस्थापन तथा निरन्तरताका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा आसमान नेपालका प्रतिनिधिले महिला सुरक्षा आवासको प्रगति तथा सेवा प्रवाहसम्बन्धी विवरण प्रस्तुत गर्दै हालसम्म ४६५ जनाभन्दा बढी सेवाग्राहीले सेवा प्राप्त गरिसकेको जानकारी दिए। महिला सुरक्षा आवास सञ्चालनका लागि वार्षिक करिब १८ लाख रुपैयाँ आवश्यक पर्ने लागत विवरणसमेत प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले महिला सुरक्षा आवासको महत्वलाई मध्यनजर गर्दै कम्तीमा २०८४ असार मसान्तसम्म सञ्चालनका लागि हिउँदे अधिवेशनबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष चौधरी, विभिन्न वडाका अध्यक्ष तथा अन्य सरोकारवालाले महिला सुरक्षा आवासलाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए।

शिक्षा शाखा प्रमुखले AFIC कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित वडा अध्यक्षको प्रत्यक्ष निगरानीमा आगामी बजेट अधिवेशनबाट आवश्यक बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए।

कार्यक्रमको अन्त्यमा अर्ली अडप्टरहरूको सूची गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। साथै, आगामी नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ (UN) को आयोजनामा हुने समापन बैठक (Closure Meeting) सम्बन्धमा समेत छलफल गरिएको आयोजकले जनाएको छ।

महिला सुरक्षा आवासको दिगोपना सुनिश्चित गर्दै लैङ्गिक हिंसा रोकथाम तथा पीडित महिलालाई उपलब्ध गराइने सेवाहरू स्थानीय सरकारको स्वामित्व र नेतृत्वमा निरन्तरता दिने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button