नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सप्तरीले पार्टी अनुशासन उल्लंघन र संगठनविरुद्ध गतिविधि गरेको आरोपमा दुई जनालाई निष्कासन गरेको छ।
जिल्ला कमिटीका अध्यक्ष ताराकान्त चौधरीद्वारा जारी विज्ञप्तिअनुसार तिलाठी–कोइलाडी गाउँपालिका–२ का प्रदीप मण्डल र त्यही गाउँपालिका–१ का भोगान्न मिश्रलाई पार्टीको नीतिविपरीत गतिविधि गरेको कारण देखाई सदस्यता समेत खारेज गरी पूर्ण रूपमा पार्टीबाट निष्कासन गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, “उक्त दुई जनाले पछिल्ला दिनहरूमा पार्टीविरुद्ध गैरजिम्मेवार र अनुशासनहीन गतिविधि गर्दै आएका हुँदा संगठनले कारबाही स्वरूप निष्कासनको निर्णय गरेको हो।”
एमाले जिल्ला कमिटीले पार्टी अनुशासन र संगठनात्मक एकता कायम राख्न आगामी दिनमा पनि यस्ता कार्यमा संलग्न हुने जो–कोहीप्रति कडा कदम चालिने चेतावनी दिएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।