पब्लिक प्रेस ।
सप्तरी । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामाका ५२ वर्षीय रामबहादुर रजक र अर्को प्रतिवादी ३४ वर्षीय गुनजेश सिंह रहेका छन्।
प्रहरीका अनुसार २०८३ असोज १४ गते उदयपुर जिल्लाका एक व्यक्तिलाई चिनजानका माध्यमबाट रामबहादुर रजकले रकम लगानी गरे दोब्बर बनाइदिने भन्दै प्रलोभन देखाएका थिए। सोही प्रलोभनमा परी पीडितले व्यापारबाट कमाएको पाँच लाख रुपैयाँ दिएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।
रकम दिएको केही समयपछि पटक–पटक फोन सम्पर्क गरी आफ्नो रकम फिर्ता माग्दा नपाएको र थप एक लाख रुपैयाँ दिनुपर्ने भन्दै दबाब दिएको पीडितको भनाइ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक १७ गते दिउँसो करिब २ बजे रामबहादुर रजकको घरमा पुगेर कुराकानी गर्ने क्रममा पीडितको मोबाइलसमेत खोसी सम्पर्कविहीन बनाइएको थियो। यसबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सोही दिन नगद एक लाख रुपैयाँसहित दुवै प्रतिवादीलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका दुवै जनालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र २०८३ कात्तिक १८ गते सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विवरण सार्वजनिक गरिएको हो।










