पब्लिक प्रेस ।
सप्तरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय समिति बैठक मंगलबार राजविराजस्थित मदननगर पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता एमाले जिल्ला अध्यक्ष तराकान्त चौधरीले गरेका थिए।
बैठकमा प्रमुख अतिथि जिल्ला इन्चार्ज सुमन प्याखुरेल र विशेष अतिथि पूर्व गृहमन्त्री तथा एमाले नेता राजकुमार लेखी रहेका थिए। कार्यक्रममा प्रदेश, केन्द्रीय र जिल्ला कमिटीका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकमा बोल्दै जिल्ला सचिव देवनाथ यादवले पार्टीको निर्देश अनुसार सबै कमरेडहरूले पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए। उनले भने, “पार्टीको नीति र निर्देशनअनुसार चल्न नसक्नेहरूले जिम्मेवारी बहन गर्न पाउने छैनन्।”
यादवले कार्यक्रममा अपेक्षाअनुसार कमरेडहरूको उपस्थिति नहुँदा दुःख व्यक्त गर्दै भने, “पार्टीले तोकेका जिम्मेवारीबाट भागेर हुँदैन, एमाले छोड्ने वा तोडफोड गर्नेहरू पार्टीभित्रका होइनन्, एमालेभित्र अहिले पनि सशक्त एकता छ।”
त्यसैगरी प्रमुख अतिथि प्याखुरेलले देशमा भइरहेको प्रतिगामी षड्यन्त्रविरुद्ध एमाले एकजुट भएर अघि बढिरहेको बताए। उनले भने, “एमालेका सबै कार्यकर्ता केपी ओली हुन्। जनताको अधिकार र लोकतान्त्रिक उपलब्धि रक्षा गर्न हामी सबै एक ठाउँमा उभिनुपर्छ।”
बैठकले पार्टीका आगामी जनप्रदर्शन र सभा कार्यक्रमसम्बन्धी तालिका समेत सार्वजनिक गरेको छ। कार्तिक २२ गते वडा स्तरिय जनभेला,कार्तिक २५ गते पालिका स्तरिय जनप्रदर्शन, र
कार्तिक २९ गते जिल्ला स्तरिय विशाल जनसभा राजविराजमा आयोजना हुने निर्णय गरिएको छ।
बैठकले जिल्ला कमिटी र सबै पालिकाका कार्यकर्तालाई तोकिएका मितिमा जनभेला, जनप्रदर्शन र जनसभालाई सफल बनाउन पूर्ण तयारीमा जुट्न निर्देशन दिएको छ।










