पब्लिक प्रेस ।
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण मानवीय क्षति, पशुचौपाया तथा निजी एवं सरकारी संरचना, जलविद्युत् आयोजना (हाइड्रोपावर) लगायतका क्षेत्रमा ठूलो क्षति पुगेकोप्रति जन अधिकार पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाढीका कारण जनधन, भौतिक संरचना तथा स्थानीय जनजीवनमा परेको अपूरणीय क्षतिप्रति पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ। बाढीबाट प्रभावित नागरिकमा उत्पन्न पीडा, विस्थापन र असुरक्षाप्रति दुःख व्यक्त गर्दै पार्टीले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
जन अधिकार पार्टीले घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार, राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्दै सुरक्षित पुनर्स्थापनाका लागि यथाशीघ्र आवश्यक सहयोग उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गरेको छ।
पार्टीका अध्यक्ष डा. शरद सिंह यादवद्वारा जारी प्रेस विज्ञप्तिमा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।










