पब्लिक प्रेस ।
सप्तरी । रसुवाको भोटेकोशीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीमा रोजगारीको सिलसिलामा रसुवामा रहेका सप्तरीका युवासहित दर्जनौँ व्यक्ति सम्पर्कविहीन भएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सप्तरीले तत्काल खोज तथा उद्धार गर्न सरकारसँग माग गरेको छ।
नेकपा सप्तरीका संयोजक प्रतापनारायण चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा सप्तरीका एकै परिवारका तीन प्राविधिकसहित दर्जनौँ युवा सम्पर्कविहीन भएको समाचार सार्वजनिक भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भोटेकोशीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको, सयौँको ज्यान गएको तथा ठूलो संख्यामा नेपाली नागरिक र विदेशी पर्यटक हराइरहेको उल्लेख छ। साथै, सयौँ घाइते भएको र पशुपन्छीसमेत बाढीका कारण विस्थापित भएको जनाइएको छ।
नेकपा सप्तरीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टीले बाढीमा परी सम्पर्कविहीन भएका सप्तरीका युवालगायत हराइरहेका स्वदेशी तथा विदेशी नागरिकको यथाशीघ्र खोजी गर्न, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित परिवारको शीघ्र पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ।
प्राकृतिक विपत्तिको सामना गर्न सबै एकजुट भएर उद्धार कार्यमा जुट्नसमेत पार्टीले आह्वान गरेको छ।
0 1 minute read










