पब्लिक प्रेस ।
सप्तरी । बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाका आठ जना कर्मचारी सम्पर्कविहीन भएपछि गाउँपालिकाले उनीहरूको खोजीमा सहयोग गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ।
गाउँपालिकाको कार्यालय तिलाठी, सप्तरीले २०८३ भदौ ११ गते जारी गरेको सूचनाअनुसार सम्पर्कविहीन हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–२ का सब–इन्जिनियर दिलिपकुमार मण्डल, सब–इन्जिनियर मनिषकुमार मण्डल, इन्जिनियर रामकृष्ण मण्डल, सब–इन्जिनियर जितेन्द्रकुमार मण्डल, इन्जिनियर प्रेमकुमार मण्डल र इन्जिनियर नवलकुमार मण्डल रहेका छन्।
त्यसैगरी गाउँपालिका–४ का मेकानिकल इन्जिनियर संजयकुमार साह र गाउँपालिका–६ का कर्मचारी अशोककुमार मण्डल पनि बाढीपछि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले बाढीका कारण सम्पर्कविहीन भएका उनीहरूको खोजीमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ। साथै, उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल वा विपद् सम्पर्क व्यक्ति राजेशकुमार झालाई जानकारी गराउन आग्रह गरिएको छ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलको सम्पर्क नम्बर ९८०४७१५६८० र विपद् सम्पर्क व्यक्ति राजेशकुमार झाको सम्पर्क नम्बर ९८०७७२७६५१ रहेको सूचनामा उल्लेख छ।
0 1 minute read










