समाचार

तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्षको अनुपस्थितिले सेवा प्रभावित, राजीनामाको माग चर्कियो

पब्लिक प्रेस
राजविराज, चैत — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्ष फूलकुमारी साह नियमित रूपमा कार्यालयमा उपस्थित नहुँदा स्थानीय तहको सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको गुनासो तीव्र बन्दै गएको छ।
स्थानीयवासीका अनुसार उपाध्यक्ष साह कार्यालयीय जिम्मेवारीभन्दा निजी कार्यमा बढी व्यस्त रहने गरेको आरोप लगाइएको छ। यसका कारण सेवाग्राहीहरू आवश्यक सेवा पाउनबाट वञ्चित हुन थालेका छन्।
पालिकामा सेवा लिन आउने सेवाग्राहीहरूका अनुसार न्याय समितिमा मुद्दा लिएर जाँदा समितिका सदस्यहरूमध्ये प्रायः एक जना कर्मचारी मात्रै भेटिने गरेका छन् भने अन्य कर्मचारीहरू अनुपस्थित रहने गरेका छन्। यसले सेवाग्राहीलाई अनावश्यक सास्ती खेप्न बाध्य बनाएको छ।
यस्तै, पालिकाका अन्य शाखाहरूमा पनि कर्मचारीहरूको नियमित उपस्थिति नदेखिएको स्थानीयको भनाइ छ। जनप्रतिनिधि स्वयं कार्यालयमा नबस्ने अवस्थाले समग्र सेवा प्रवाहमा गम्भीर असर परेको छ।
स्थानीय राजनीतिकर्मी शिवनाथ यादवले जनप्रतिनिधि मात्र होइन, कर्मचारीहरूले समेत जिम्मेवारीअनुसार सेवा नदिए तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। “जनताको काममा लापरवाही गर्ने जो कोही भए पनि पदमा बसिरहन मिल्दैन,” उनले कडा प्रतिक्रिया दिए।
उपाध्यक्ष फूलकुमारी साहसँग प्रतिक्रिया लिन प्रयास गर्दा उनको फोन सम्पर्क हुन सकेन। यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कर्णले भने उपाध्यक्षसँगै प्रत्यक्ष प्रतिक्रिया लिन सुझाव दिँदै आफूले स्पष्ट टिप्पणी गर्न चाहेनन्।
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको लापरवाहीका कारण सेवाग्राही मारमा परिरहेका बेला सम्बन्धित निकायको ध्यान नपुग्दा असन्तोष झन् चर्किँदै गएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button