पब्लिक प्रेस ।
नविन यादव
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढास्थित राजु साहद्वारा सञ्चालन हुँदै आएको बाबा धर्मराज (BDR) इँटा भट्टामा शोषणमा परेका २३ जना कामदारको विहिवार मानवअधिकार आयोगको पहलमा उद्दार गरिएको छ।
बाबा धर्मराज इँटा उद्योगमा ठेकेदारमार्फत काम गर्न आएका भारतीय नागरिक कामदारलाई जबरजस्ती काममा लगाइएको तथा ज्याला नदिएको भन्ने सम्बन्धमा अनलाइन उजुरी प्राप्त भएको थियो। उक्त उजुरीका आधारमा घटनाको वास्तविकता बुझी कामदारहरूको उद्दार गर्न आवश्यक छानबिन तथा समन्वय गरिदिन राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधामबाट पत्र प्राप्त भएपछि टोली खटाइएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण सहनीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कारबाही गरेको थियो। सो क्रममा २३ जना भारतीय नागरिक कामदारलाई उद्दार गरिएको हो।
उद्दार गरिएका कामदारहरूलाई सोही दिन बेलुका आयोगको टोलीले जिम्मा लिएको जनाइएको छ।










