पब्लिक प्रेस ।
सप्तरी/ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी क्षेत्र नम्बर २ का जनताले उम्मेदवारहरूलाई गहिरो मूल्यांकन गरिसकेको देखिन्छ। को दलबदलु नेता हो, को जनताको स्पष्ट भिजन बोकेको नेता हो, को बौद्धिक स्तरको नेता हो र को जनताको दुःख–सुखमा काँधमा काँध हालेर हिँड्न सक्ने नेता हो भन्ने विषयमा जनताले आफ्नै ढंगले फिल्टर गरिसकेका छन्।
विगतका वर्षहरूमा यस क्षेत्रका जनताले ठेकेदार राजनीतिक संस्कृतिको गहिरो पीडा भोग्दै आएका छन्। विकासका नाममा योजना लुट, पहुँचका आधारमा अवसर बाँडफाँड र जनताको समस्याप्रति संवेदनहीन व्यवहारले क्षेत्र नम्बर २ का धेरै नागरिक विस्थापित जस्तै अवस्थामा पुगेका छन्। जनताको हक अधिकार खोसिँदा पनि बोल्ने कोही नभएको अनुभूति अहिले पनि जनमानसमा ताजै छ।
यही सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीबाट सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार क. सूर्यनाथ प्रसाद यादव (उर्फ सुभाष) ले जनताको पीडालाई केन्द्रमा राखेर स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छ। उहाँले ठेकेदार राजनीतिक प्रवृत्तिले क्षेत्र नम्बर २ का जनतालाई उठिबासको अवस्थामा पुर्याएको उल्लेख गर्दै अब त्यसलाई पुनः स्थापित गर्न जनतासँगै उभिएर संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ।
“जनतालाई बुझ्नु, जनताको पीडालाई आत्मसात् गर्नु र समाधानको बाटो देखाउनु नै साँचो जनप्रतिनिधिको कर्तव्य हो,” क. सूर्यनाथ यादवको भनाइ छ। उहाँले समाज र जनतालाई शोषण गर्ने ठेकेदार प्रवृत्तिलाई बहिष्कार नगरेसम्म परिवर्तन सम्भव नहुने स्पष्ट गर्नुभएको छ।
उहाँले शिक्षित, सचेत र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न राजनीतिक चेतनाको विकास अपरिहार्य रहेको बताउनु भयो। जनताको श्रम, पसिना र भविष्य बेचेर राजनीति गर्नेहरूलाई अस्वीकार गर्दै इमानदार, विचारशील र संघर्षशील नेतृत्वलाई अगाडि ल्याउनु आजको आवश्यकता भएको उहाँको जोड छ।
क्षेत्र नम्बर २ का जनताले अब नारा होइन, व्यवहार खोजिरहेका छन्। भाषण होइन, प्रतिबद्धता खोजिरहेका छन्। जनताको पीडामा साथ दिने, जनताको आवाज संसदसम्म पुर्याउने र शोषणविरुद्ध डटेर उभिन सक्ने नेतृत्वको खोजीमा जनता छन्। यही चाहनाको प्रतिबिम्बका रूपमा क. सूर्यनाथ प्रसाद यादवको उम्मेदवारीलाई धेरैले आशाको रूपमा हेर्न थालेका छन्।









