समाचार

सत्तामा हुँदा सेतो दिन, बाहिर हुँदा कालो दिन : शिवम यादवको मधेशी दलमाथिको प्रहार

पब्लिक प्रेस ।
रूपनी (सप्तरी) —
२०६३ सालको मधेश आन्दोलनमा अग्रपंक्तिमा उभिएका शिवम यादव, अहिले मधेशी दलहरूको राजनीतिक बाटोप्रति मोहभंग भइ पूर्ण रूपमा निष्क्रिय भएका छन्। सप्तरी जिल्लाको रूपनी गाउँपालिका–१ निवासी यादवले मधेशी दलहरूलाई सत्तामुखी स्वार्थमा डुबेका सत्ता सौदागरको संज्ञा दिएका छन्।
यादवको भनाइ अनुसार,
“जब उनीहरू सत्तामा हुन्छन्, त्यो दिन ‘सेतो दिन’ हुन्छ। जब बाहिर हुन्छन्, त्यो दिन ‘कालो दिन’ घोषणा गर्छन्। यस्तो नाटक धेरै देखियो। अब जनता ठगिँदैनन्।”
शिवम यादवले मधेश आन्दोलनमा युवाको तर्फबाट नेतृत्व गर्दै नागरिकता, समानता र प्रतिनिधित्वका पक्षमा निरन्तर संघर्ष गरेका थिए। तर पछिल्लो समय मधेशी दलहरूको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै राजनीतिबाट आफू अलग्गिएको उनले स्पष्ट पारेका छन्।
राजनीतिबाट निष्क्रिय, तर मुद्दाबाट होइन
राजनीतिक रूपमा अब कुनै पनि पार्टीमा नलागेको यादव बताउँछन्,
“मैले राजनीति छोडेको हुँ, मधेशको मुद्दा होइन। किनभने अहिलेको राजनीति मधेशका लागि होइन, नेताहरूका लागि मात्रै चलेको छ।”
उनले दलहरूलाई सत्ता प्राप्तिका लागि जनतालाई प्रयोग गर्ने संस्था मात्र भनेका छन्। आन्दोलन गर्दा जनतालाई अगाडि राख्ने, सत्तामा पुगेपछि मुद्दा बिर्सने प्रवृत्तिले आफूलाई राजनीतिबाट टाढा पुर्याएको उनले बताए।
‘नाताबाद’ र ‘कृपाबाद’कै सञ्जालमा फसेका छन् मधेशी दलहरू
शिवम यादवको आरोप छ —
“आज मधेशी दलहरू पार्टी होइन, ‘परिवार लि.’ जस्ता बनेका छन्। मन्त्री, सांसद, राजदूत सबै आफ्ना नातेदार। कार्यकर्ता हेर्ने कसैको फुर्सद छैन।”
उनका अनुसार मधेश आन्दोलनमा बलिदान दिने कार्यकर्ताहरू अहिले पनि उपेक्षित छन्। अस्पताल, अदालत र बेरोजगारीको पीडामा उनीहरू गुज्रिरहेका छन्। तर नेताहरू भने सत्तामा रमाइरहेका छन्।
“संविधान संशोधन, नागरिकता, सीमावर्ती हत्या — यी सबै मुद्दा चुनावका पोस्टर मात्रै हुन्। सत्तामा पुग्नेबित्तिकै यी मुद्दाहरू गायब हुन्छन्,” उनले भने।

अबकाे बाटाे –

“मैले आन्दोलनको सुरुवात बन्दूक वा नारासँग गरेको थिइनँ — मैले सुरुवात गरेको थिएँ न्यायको प्यास, समानताको तिर्खा र जनताको सपना बोकेर।

तर आज…
त्यही आन्दोलनको अगुवा भनिनेहरू सत्तामा रमाएका छन्,
त्यही आन्दोलनको सपनामा मरेका युवाहरूका आमाहरू अझै आकाशतिर हेरिरहेका छन्।

म चुप रहन सकिनँ।

अब हामी कुनै जात, वा भूगोलका लागि होइन,
सबैको न्याय र समानताको लागि लड्नेछौं।

हाम्रो लक्ष्य सत्ता होइन,
समान देश बनाउनु हो – जहाँ कोही दोस्रो दर्जाको नागरिक नहोस्।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button