समाचार

महादेवा पलिकामा शिक्षाको दुर्गति: SEE नतिजा-२९ विद्यार्थीमध्ये केवल एक जना उत्तीर्ण

  • नविन निर्भय यादव ।

सप्तरी जिल्लाको महादेवा गाउँपालिका शिक्षा संकटको गहिरो चपेटामा परेको छ। हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाले पालिकाको शैक्षिक अवस्था प्रति गम्भीर प्रश्न खडा गरेको छ। यस पालिकाबाट सहभागी भएका सयौं विद्यार्थीमध्ये केवल एक जना मात्र उत्तीर्ण भएको तथ्यले स्थानिय तहमा चिन्ता र बहस उत्पन्न गराएको छ।

महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मंडलको कार्यकालमा शिक्षा क्षेत्र थप संकटग्रस्त भएको स्थानिय एक स्राेतले  बताएका छन्। उनका अनुसार समग्र पालिकाको शैक्षिक नीतिमा दूरदर्शिता र प्रभावकारी कार्यान्वयनको अभाव छ, जसले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्दैछ।

अझ दुःखद स्थिति वड नं. ५ स्थित श्री जनता माध्यमिक विद्यालय भगवतपुर कचहरीमा देखिएको छ। यस विद्यालयबाट SEE मा २९ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर नतिजा सार्वजनिक हुँदा केवल एक जना मात्र उत्तीर्ण भएका छन्। यस्तो लज्जाजनक परिणामले विद्यालय प्रशासनसँगै पालिका नेतृत्वमाथि प्रश्न उठाएको छ।

विद्यालयका शिक्षकहरू र अभिभावकहरूले शिक्षाको गुणस्तरप्रति चासो जनाउँदै तत्काल सुधारात्मक कदम चाल्न माग गरेका छन्। शिक्षा संयोजक देवकुमार यादव र अध्यक्ष मंडललाई जवाफदेही बनाउनुपर्ने आवाज बढिरहेको छ। कतिपयले शैक्षिक लगानी, शिक्षकमाथिको निगरानी, र वातावरणीय कारणहरूलाई पनि वर्तमान संकटको कारक मानेका छन्।

स्थानीय युवाहरूले चेतावनी दिएका छन् कि यदि शिक्षा क्षेत्रको सुधारका लागि ठोस कार्यक्रम ल्याइएन भने उनीहरू आन्दोलनको बाटो अपनाउन बाध्य हुनेछन्। पालिका कार्यालयले घटनाको समीक्षा गर्न कार्यदल गठन गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।

स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा पालिका नेतृत्वको समन्वयमा मात्र यस्तो गम्भीर समस्याको समाधान सम्भव छ। शिक्षा भनेको विकासको मेरुदण्ड हो, र यसलाई कमजोर बनाउनु सम्पूर्ण भविष्यप्रति अन्याय हो भन्नेमा सबैको सहमति देखिन्छ।

(सूचना नोट:- महादेवा मावि, भगतपुरका स्रोतबाट प्राप्त जानकारीलाई समाचारमा राखिएको थियो। तर राजनीतिक दबाबका कारण ती विषयहरूलाई पछि हटाउने प्रयास गरिएपछि, हामीले स्रोतको भनाइ समाचारबाट हटाइएको जानकारी गराएका छौं।

त्यसैसँगै, हामीले दोस्रो स्रोतबाट प्रमाणसहित प्राप्त तथ्यहरूको आधारमा जानकारी सार्वजनिक गरेका छौं । )


पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button