पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । यसैसाथ आईपिएल जित्ने आठौ टिमको रुपमा आरसिबी भएको हो ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र एक चौका प्रहार गरेपनि जीतको लागि पर्याप्त हुन सकेन ।
शशांक सिंहले ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पाण्ड्याले समान २÷२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १÷१ विकेट लिए ।
बेंगलुरुले यसअघि तीन पटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बेंगलुरु उपाधिबाट वञ्चित भएको थियो ।










