समाचार

लालपुर्जा वितरणमा घुस लिएको आरोप गलत, सेवाग्राहीकै आत्मस्वीकार

सप्तरी, राजविराज ।
नापी कार्यालय सप्तरीमा कार्यरत अमिन श्रीप्रसाद यादवमाथि घुस लिएर जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको भनी लगाइएको आरोप निराधार रहेको स्थानीयहरूले बताएका छन्। डाक्नेश्वरी नगरपालिका–९ मा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत स्थानीयहरूले उक्त आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै स्थानीयहरूले बहकाव र दबाबमा परेर आफूहरूले अमिन यादवमाथि आरोप लगाएको स्वीकार गरेका छन्। स्थानीय बद्री मण्डलले कामको क्रममा अमिन यादवले सेवाग्राहीसँग कुनै रकम नलिएको बताउँदै राजनीतिक प्रतिशोधका कारण आरोप लगाइएको स्पष्ट पारे।
उनका अनुसार जग्गा धनी प्रमाणपत्र वितरण कार्यक्रम समयभन्दा दुई–तीन घण्टा ढिलो सुरु हुँदा सेवाग्राहीहरू तनावमा थिए। सोही अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले सहभागीहरूलाई बहकाएको र त्यसकै प्रभावमा परेर आरोप लगाइएको उनले बताए।
स्थानीयहरूले अमिन यादवले बिना कुनै रकम लिई सेवाग्राहीलाई सहज रूपमा सेवा दिएको उल्लेख गर्दै आफ्नो गल्तीका कारण निर्दोष व्यक्तिले आरोप खेप्नुपरेकोमा दुःख व्यक्त गरेका छन्। “हामीलाई आफ्नो गल्ती महसुस भएकोले नै पत्रकार सम्मेलनमार्फत सत्य सार्वजनिक गरेका हौँ,” उनीहरूले भने।
उल्लेखनीय छ, वैशाख १२ गते नापी कार्यालय सप्तरीद्वारा डाक्नेश्वरी–९ मा आयोजित गाउँ ब्लकअन्तर्गत जग्गा धनी प्रमाणपत्र वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य अमरकान्त चौधरीले सम्बोधनका क्रममा स्थानीयहरूको भनाइ उद्धृत गर्दै अमिन यादवमाथि घुस लिएको आरोप सार्वजनिक गरेका थिए।
यस विषयमा अमिन श्रीप्रसाद यादवले आफूले कसैसँग कुनै रकम नलिएको र सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गरेको दाबी गर्दै आफूमाथि लगाइएको आरोप पूर्णतः गलत रहेको बताएका छन्

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button