रवि शर्मा ।
सप्तरीको हनुमाननगरलगायतका क्षेत्रमा चैती छठ पर्व यस वर्ष विशेष रूपमा भव्य रूपमा सम्पन्न भएको छ। श्रद्धा र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा रहेको चार दिने यो पर्वको समापन आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै गरिएको छ।
पर्वको पहिलो दिन व्रतालुहरूले नुहाइधुवाइ गरी चोखो भोजन ग्रहण गरेका थिए। दोस्रो दिन खरना गरियो, जसमा सख्खर हालेको खिर, पुरी, र केरा लगायतका प्रसाद ग्रहण गरिएको थियो। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको थियो। अन्तिम दिन आज, व्रतालुहरूले गंगाजल तथा पवित्र जलाशयमा स्नान गरी उदाउँदो सूर्यलाई अर्घ अर्पण गरे।
विशेष रूपमा पूजामा प्रयोग गरिएका प्रसादमा ठकुवा, नरिवल, सुन्तला, अदुवा, केरा, उखु तथा माटोबाट निर्मित धार्मिक सामग्रीहरूको प्रयोग गरिएको थियो। यी सामग्रीहरू शुद्धताको प्रतीक मानिन्छ।
धार्मिक मान्यताअनुसार, छठको आराधनाले घरमा सुख-शान्ति ल्याउने, चर्मरोग निको पार्ने तथा आपसी सद्भाव बढाउने विश्वास गरिन्छ। स्थानीय हनुमान मन्दिरका पण्डितका अनुसार सूर्यदेवको पूजा गर्ने परम्पराले परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ।
यो पर्वले सप्तरी जिल्लामा धार्मिक आस्थालाई थप बलियो बनाएको छ। स्थानीयहरूले पर्वलाई सहिष्णुताका साथ मनाउँदै समाजमा प्रेम र सद्भावको उदाहरण प्रस्तुत गरेका छन्। छठ पर्वले धार्मिक तथा सांस्कृतिक विविधता झल्काउँदै स्थानीय जीवनमा नयाँ ऊर्जा भरेको छ।
यो छठ पर्वले सप्तरी जिल्लामा धार्मिक र सांस्कृतिक महत्त्वलाई पुनः जागृत गरेको छ।










