धर्मसमाचार

बङ्गलादेशमा हिन्दु हत्या घटनाप्रति मौनधारण, राजविराजमा खबरदारी र्‍याली

 

पब्लिक प्रेस ।
सप्तरी ।
नैतिकहीन सरकार, फेक सम्झौता, भ्रष्टाचार तथा वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध खबरदारी गर्दै सप्तरीको राजविराजमा हिन्दुवादी तथा Gen Z युवाहरूको बृहत् बाइक र्‍याली सम्पन्न भएको छ।
शनिबार राजविराज नगरपालिका–७ स्थित बाल मन्दिरबाट सुरु भएको उक्त र्‍याली बजरङ्ग दल सप्तरी, हिन्दु सम्राट सेना सप्तरी, पहिला देश सप्तरी, Gen Z नेपाल तथा अन्य राष्ट्रवादी, सामाजिक र युवा संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रम पहिला देश सप्तरीका संयोजक बिनोद कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। र्‍यालीमा Gen Z नेपालका अभियानकर्ता तथा पहिला देशका केन्द्रीय अध्यक्ष डा. निकोलश भुसाल, हिन्दु सम्राट सेना सप्तरीका जिल्ला उपाध्यक्ष जयराम यादव, बजरङ्ग दल सप्तरीका अध्यक्ष आकाश यादव, विभिन्न संघ–संस्थाका प्रतिनिधि, हिन्दुवादी युवा, राष्ट्रवादी अभियन्ता तथा स्थानीय Gen Z युवाहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो।
र्‍यालीका क्रममा सहभागीहरूले Gen Z सँग घात गर्न पाइँदैन, नैतिकहीन सरकार चाहिँदैन, फेक सम्झौता खारेज गर, Gen Z आन्दोलनलाई संस्थागत गर, चुनाव मात्र समस्याको समाधान होइन तत्काल संविधान संशोधन गर, हत्यारालाई कारबाही गर, भ्रष्टाचार गर्न पाइँदैन तथा हिन्दु राष्ट्र कायम गर जस्ता नाराहरू लगाएका थिए।
नगर परिक्रमा गर्दै अघि बढेको बाइक र्‍याली राजविराज नगरपालिका–६ स्थित नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा वक्ताहरूले युवाको आवाज दबाउने प्रवृत्ति बढ्दै गएको, जनअपेक्षाविपरीत निर्णयहरू भइरहेको र देश गलत दिशातर्फ अघि बढिरहेको आरोप लगाए।
कार्यक्रमको अन्त्यमा केही दिनअघि बङ्गलादेशमा हिन्दु समुदायका व्यक्तिको हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
यस सम्बन्धमा हिन्दु सम्राट सेना सप्तरीका जिल्ला उपाध्यक्ष जयराम यादवले जानकारी दिएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button