पब्लिक प्रेस ।
राजविराज, । मिथिला–देवघर बोलबम साइकल यात्रा अभियानको छैटौँ संस्करण शनिबारदेखि सुरु भएको छ। छिन्नमस्ता गाउँपालिका–१ का वडा अध्यक्ष ललन प्रसाद यादवको नेतृत्वमा सुरु भएको धार्मिक साइकल यात्रामा प्रारम्भिक चरणमा ४५ जनाको सहभागिता रहेको छ।
आयोजकका अनुसार यात्रामा सहभागीको संख्या थपिन सक्नेछ। मिथिला क्षेत्रबाट देवघरधामसम्म पुग्ने गरी तय गरिएको यात्रा १२ दिनको भए पनि साइकल यात्रालाई ६ दिनभित्रै पूरा गर्ने लक्ष्य राखिएको छ।
अभियानका समन्वयकर्ता शुभाष वीरपुरियाका अनुसार धार्मिक आस्था, आपसी सद्भाव र मिथिला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष बोलबम साइकल यात्रा आयोजना हुँदै आएको छ। यस वर्ष पनि विभिन्न स्थान हुँदै देवघरधाम पुग्ने कार्यक्रम रहेको उनले बताए।
यात्रामा सहभागीहरू साइकलमार्फत देवघरधाम पुगेर भगवान् शिवको पूजाआराधना गर्नेछन्। अभियानले धार्मिक पर्यटनसँगै युवाहरूलाई सकारात्मक तथा सामाजिक गतिविधिमा जोड्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
मिथिला–देवघर बोलबम साइकल यात्रा अभियानको समन्वय मिलाफ नेपालले गरेको हो।










