६८ औं राष्ट्रिय सहकारी दिवसको उल्लास सप्तरीको सप्तकोसी नगरपालिकामा विभिन्न सांस्कृतिक र खेलकुद गतिविधिको माध्यमबाट मनाइएको छ। “मर्यादित सहकारी: सम्मुन्नत समाज” भन्ने मूल नारालाई केन्द्रमा राख्दै सहकारी समन्वय समितिले प्रभातफेरि, नगर स्तरीय खेलकुद प्रतियोगिता, र जागरण सभाको आयोजना गरेर सहकारीको महत्त्वलाई पुनः पुष्टि गर्यो।
नगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा ३२ जोडी खेलाडीहरूले प्रतिस्पर्धा गरे। रोमाञ्चक खेलमा अमर बिक र मिन खड्काको जोडीले सुरज खड्का र शम्शेर खड्काको जोडीलाई १९–२१, २१–१५, २२–२० को नतिजाले पराजित गर्दै उपाधि जितेको छ। फुटबलमा नगरपालिकाका कर्मचारीले सहकारी टोलीलाई ३–१ को गोलान्तरले पराजित गर्दै विजय हासिल गरे।
कार्यक्रमको मुख्य सभामा सप्तकोसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष रोहिणि प्रसाद पोखरेलले सहकारी व्यवसायले देशको आर्थिक सुदृढीकरणमा पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारलाई यसको संरक्षण र प्रबर्द्धनमा गम्भीर हुन आह्वान गरे। राष्ट्रिय सहकारी बोर्डका निवर्तमान सदस्य शम्भुबहादुर खड्काले सहकारी संस्थामाथि भइरहेको चौतर्फी आक्रमणलाई प्रतिकूल संकेत भन्दै सहकारीले देशमा व्याप्त अभाव र बेरोजगारीलाई न्यून गर्न ठुलो भूमिका खेलेको बताए।
कार्यक्रमका प्रमुख अतिथि सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले सहकारी व्यवसायको शक्ति र सामाजिक न्यायमा पुर्याएको योगदानलाई प्रशंसा गरे। समापन कार्यक्रममा प्रतियोगिताका बिजेता र उपविजेता टोलीलाई ट्रफी तथा मेडल वितरण गरियो।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।