पब्लिक प्रेस ।
महादेवा गाउँपालिकास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा खानेपानी र शौचालयको उचित व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षक समस्यामा परेका छन्। लामो समयदेखि आधारभूत पूर्वाधारको अभाव झेल्दै आएको विद्यालयमा शौचालयको व्यवस्था नहुँदा विद्यार्थीलाई विद्यालय बाहिर जानुपर्ने बाध्यता रहेको छ। २०११ सालमा स्थापना भएको विद्यालयमा बालविकास कक्षामा ३९ जना तथा कक्षा १ देखि ५ सम्म क्रमशः २३, ८, ७, १८ र २५ जना गरी १ सय २० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा खानेपानीको भरपर्दो व्यवस्था नभएको र शौचालयसमेत पर्याप्त तथा प्रयोगयोग्य नरहेको प्रधानाध्यापक भुवनेश्वर मण्डलले बताए। ‘विद्यालयमा खानेपानीको पूर्ण व्यवस्था हुन सकेको छैन। शौचालयको अवस्था पनि राम्रो छैन,’ प्रधानाध्यापक मण्डलले भने, ‘आधारभूत सुविधा नहुँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भइरहेको छ ।
स्थानीय जयप्रकाश यादवका अनुसार विद्यालय करिब १५ वर्षदेखि शौचालयविहीन अवस्थामा छ। उनका अनुसार शौचालय निर्माण तथा व्यवस्थापनका लागि पटक–पटक कुरा उठे पनि समस्या समाधान हुन सकेको छैन। स्थानीय दीपेन्द्र मण्डलले पनि विद्यालयमा करिब तीन वर्षदेखि खानेपानीको उचित व्यवस्था नभएको बताउनुभयो । शौचालयको व्यवस्था नहुँदा विद्यार्थीलाई झनै समस्या हुने गरेको छ। कक्षा ५ का विद्यार्थी राकेश कुमार रामले शौच गर्न विद्यालय नजिकैको खेततर्फ जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । ‘विद्यालयमा शौचालय नहुँदा निकै समस्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘शौच गर्न खेततिर जानुपर्छ।’ खानेपानी र शौचालयजस्ता आधारभूत सुविधा अभावले विद्यार्थीको पठनपाठनसँगै स्वास्थ्य र सरसफाइमा समेत प्रतिकूल असर पर्न सक्ने स्थानीयको भनाइ छ। विद्यालयमा बालमैत्री र सुरक्षित सिकाइ वातावरण निर्माण गर्न आवश्यक पूर्वाधारको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
महादेवा गाउँपालिकाका अधिकृत राजकिशोर साहले विद्यालयको अवस्थाप्रति प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको सक्रियता तथा जिम्मेवारीमा कमी देखिएको बताउनुभयो । विद्यालयका आधारभूत समस्या समाधानका लागि विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको धारणा छ। लामो समयदेखि शौचालय र खानेपानीको समस्या झेल्दै आएको विद्यालयमा विद्यार्थीको स्वास्थ्य, सरसफाइ र मर्यादित वातावरणमा अध्ययन गर्ने पाउनु पर्ने भन्दै सम्बन्धित निकायले तत्काल आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने साहले बताउनुभयो ।










