पब्लिक प्रेस ।
राजविराज, चैत १६ — नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा ढिलाइ भएको भन्दै सप्तरीमा नव पुस्ताका पत्रकारहरूले आइतबार महासंघ कार्यालय अगाडि धर्ना दिएका छन्।
लामो समयदेखि नयाँ सदस्यता वितरण प्रक्रिया अगाडि नबढाइँदा नयाँ पत्रकारहरू संस्थागत अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्। धर्नामा सहभागीहरूले महासंघले विधानअनुसार तत्काल नयाँ सदस्यता दिनुपर्ने माग गरेका छन्।
यसअघि उनीहरूले चैत ४ गते महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सदस्यता प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए। तर निर्धारित समयमा माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नयाँ सदस्यता संघर्ष समितिका संयोजक रुपेश यादवले बताए।
संघर्ष समितिले पहिलो चरणमा पाँच दिनसम्म दैनिक एक घण्टा महासंघ कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय गरेको जनाएको छ। माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।










