पब्लिक प्रेस, राजविराज।
सप्तरीको राजविराज–०७, खरसाल टोल, सिराहा रोडमा अवस्थित धर्मराज आदर्श स्कुलद्वारा आयोजित वार्षिक खेलकुद महोत्सव–२०८२ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको खेलकुद महोत्सव मिति २०८२/१०/२३ गतेदेखि २०८२/११/०१ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।
महोत्सवको पहिलो दिन कबड्डी र क्यारमबोर्ड प्रतियोगिता सम्पन्न गरिएको थियो भने दोस्रो दिन हाउस फुटबल प्रतियोगिता आयोजना गरिएको छ। फुटबल प्रतियोगितामा विद्यालयका चार समूह A, B, C र D टिमबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा A टिमले C टिमलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो भने B टिमले D टिमलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
त्यसपछि सम्पन्न फाइनल खेलमा A र B टिमबीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयमा A टिमले २ गोल गर्न सफल हुँदा B टिमले ३ गोल गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो। अन्य खेल विवरणअनुसार C टिमले १ गोल गरेको थियो भने D टिम गोल गर्न असफल रह्यो।
खेलकुद महोत्सवको उद्घाटन विद्यालयका प्रधानाध्यापक पवित्र चौधरीले रिबन काटेर गरेकी थिइन्। कार्यक्रममा सहायक प्रधानाध्यापक रबन दासले सञ्चालन गरेका थिए। फुटबल प्रतियोगिता सुरु हुनु अघि राष्ट्रिय गान तथा मार्चपास गरिएको थियो।

खेल अवधिभर खेलाडीहरूको अनुशासन, खेल भावना र दर्शकहरूको उत्साह प्रशंसनीय रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका संस्थापक रामनरेश दासका अनुसार प्रत्येक खेलमा ४–४ समूह सहभागी गराइएको छ। प्रत्येक समूहमा १६ जना विद्यार्थी रहने गरी जम्मा ६४ जना विद्यार्थीको सहभागिता रहेको छ।
खेलकुद महोत्सवअन्तर्गत आगामी दिनहरूमा ब्याडमिन्टन, कबड्डी, क्यारमबोर्ड, लुडो, साइकल रेस, हाई जम्प, लङ जम्प, म्युजिकल चेयर, चित्रकला तथा बलुन रेस लगायतका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले खेलकुद महोत्सवले विद्यार्थीहरूको सर्वाङ्गीण विकास, शारीरिक स्फूर्ति, अनुशासन, खेलभावना, आपसी सहयोग र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।










