कृषि

मलखाद वितरणमा पक्षपातको आरोप, सप्तरीमा किसानको आक्रोश बढ्दो

 

 

सप्तरी, |
नविन यादव
सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा रासायनिक मलखादको अभाव तथा वितरणमा अनियमितता भएको आरोप लगाउँदै किसानहरूले वडा कार्यालयमा तालाबन्दी तथा विरोध प्रदर्शन गर्दै आएका छन्। समयमै मलखाद उपलब्ध नहुँदा धान खेती प्रभावित भएको किसानहरूले गुनासो गरेका छन्।
छिन्नमस्ता गाउँपालिका–६ का स्थानीय किसानहरूले मलखाद वितरणमा अनियमितता भएको आरोप लगाउँदै २०८३ साउन ११ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए। स्थानीय तहसँग भएको सहमतिपछि साउन १९ गते तालाबन्दी खोलिएको थियो। किसानहरूले मलखाद वितरण पारदर्शी बनाउनुपर्ने तथा सबै किसानलाई समान रूपमा मल उपलब्ध गराउनुपर्ने माग राखेका थिए।
विष्णुपुर गाउँपालिका–७ का २२ वर्षीय किसान रामलालसेवा सदाले आफूले दुई बिघा खेती गर्दै आए पनि हालसम्म एक किलो युरिया र डिएपी मलसमेत प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो। उहाँले स्थानीय तहका अध्यक्षदेखि वडा अध्यक्षसम्मले आफ्ना नातेदार तथा आफन्तलाई मात्र मल उपलब्ध गराएको आरोप लगाउनुभयो।
डाक्नेश्वरी नगरपालिका–९ मा २०८३ साउन २३ गते मलखाद वितरणप्रति असन्तुष्टि जनाउँदै स्थानीय किसानहरू आक्रोशित भएका थिए। यस्तै, साउन २२ गते राजगढ गाउँपालिका–१ को वडा कार्यालयमा समेत किसानहरूले मलखाद वितरणमा असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका थिए।
अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का ४४ वर्षीय किसान रामदयालले आफूले दुई बिघा खेती गर्दै आए पनि हालसम्म मलखाद प्राप्त गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार धान खेतीको मुख्य समयमा आवश्यक मल उपलब्ध नहुँदा उत्पादनमा असर पर्ने चिन्ता छ।
महादेवा गाउँपालिका–३ का ३२ वर्षीय किसान पिन्टु यादवले खेतीमा मलखाद प्रयोग गर्न नपाए खेती गर्नुको अर्थ नरहने बताउनुभयो। उहाँका अनुसार एक कठ्ठा खेती गर्न करिब तीन हजार रुपैयाँ खर्च हुने गरेको छ। समयमै मलखाद नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको उहाँको भनाइ छ।
मलखाद वितरणमा देखिएको समस्या र किसानका गुनासो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमनलाई तीव्रता दिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा साउन २० गते प्रशासकीय अधिकृत सन्तोषकुमार रायसहितको टोलीले जिल्लामा रासायनिक मलको आपूर्ति तथा वितरण प्रणालीको अनुगमन गरेको थियो।
प्राप्त गुनासोका आधारमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, राजविराजलाई मल वितरण प्रणाली थप व्यवस्थित, पारदर्शी र अभिलेखीकरणयुक्त बनाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मलखाद वितरणसम्बन्धी गुनासोहरूलाई ध्यानमा राख्दै गोप्य अनुगमनलाई समेत तीव्र बनाइनेछ। कालोबजारी तथा मलखाद वितरणमा अनियमितता गरेको पाइएमा संलग्न व्यक्तिमाथि कानूनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
त्यसैगरी, प्रदेश सरकारसँग समन्वय गरी सप्तरीमा थप रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न पहल गरिने र किसानले सहज रूपमा मलखाद प्राप्त गर्ने वातावरण निर्माण गर्न जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको जनाएको छ।
रासायनिक मलखादको अभाव तथा वितरणमा देखिएको असमानताका कारण किसानहरू आक्रोशित भइरहेका बेला सम्बन्धित स्थानीय तह, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ तथा प्रशासनबीच प्रभावकारी समन्वय गरी किसानलाई समयमै आवश्यक मल उपलब्ध गराउनुपर्ने देखिन्छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button