समाचार

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार आयोगको अपिल

वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह

पब्लिक प्रेस ।
ललितपुर, — राष्ट्रिय मानव अधिकार आयोगले देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
आयोगले (२२ पुस २०८२) जारी गरेको प्रेस–विज्ञप्तिमा हालै पर्साको वीरगञ्ज र धनुषालगायतका क्षेत्रमा सार्वजनिक अभिव्यक्ति, धार्मिक आस्थाका केन्द्रमा तोडफोड तथा आगजनीका घटनाले सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पारेको उल्लेख गरेको छ। ती घटनाहरूको आयोगले निरन्तर अनुगमन तथा अध्ययन गरिरहेको जनाएको छ।
विज्ञप्तिअनुसार पर्साको वीरगञ्जमा दुई समुदायबीच विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ भने धनुषाको कमला नगरपालिका–६, सखुवामडानमा पुस १९ गते सखुवामडानमा भएको घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात गर्दै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षण गर्ने नीति अवलम्बन गरेको आयोगले स्मरण गराएको छ। विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको नाममा हिंसा, घृणा वा सामाजिक विद्वेष फैलाउने गतिविधि संविधान, कानून र मानव अधिकारका मूल्य–मान्यताविपरीत हुने आयोगको ठहर छ।
आयोगले संविधान, कानून तथा मानव अधिकारका मूल्यमान्यताको पालना गर्दै जिम्मेवार अभिव्यक्ति दिन सबै नागरिकलाई आग्रह गरेको छ। साथै, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै शान्ति सुरक्षा कायम गर्नु राज्यको दायित्व भएको पनि आयोगले स्पष्ट पारेको छ।
साम्प्रदायिक, सामाजिक, सांस्कृतिक वा राजनीतिक हिंसा भड्किन सक्ने कुनै पनि गतिविधि रोक्न संवेदनशील भएर काम गर्न आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ। घटनामा संलग्न दोषीलाई कानूनको दायरामा ल्याउन, पीडितको मानव मर्यादा र प्रतिष्ठाको सम्मान गर्न तथा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता कायम गर्न आयोगले जोड दिएको छ।
आयोगले राजनीतिक दल, धार्मिक संस्था, धर्मगुरु, सामाजिक अभियन्ता तथा नागरिक समाजलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै आपसी मतभेदका विषयहरू वार्ताका माध्यमबाट समाधान खोज्न अपिल गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button