जसपा नेपाल

तिलाठी कोइलाडीमा जसपा नेपालको ‘पिलर’ ढल्यो : युवा नेता यादवले पार्टी त्याग्दा हजारौँ कार्यकर्ता बाहिरिने दाबी

पब्लिक प्रेस ।

समाचार

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका युवा नेतृत्वकर्ता शिबनाथ यादव (शिबु) ले सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेको घोषणा गरेका छन्।

यादव पूर्व उपाध्यक्ष सुचिता यादवका श्रीमान हुन् तथा तिलाठी–कोइलाडी गाउँपालिकामा जसपा नेपालको प्रमुख आधारस्तम्भ (पिलर) का रूपमा परिचित मानिन्थे। लामो समयदेखि पार्टी संगठन विस्तार, नेतृत्वसँग सहकार्य र संरचनागत मजबूतीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवले आफू अब साधारण सदस्यसमेत नरहने स्पष्ट उल्लेख गरेका छन्।

फेसबुकमा लेखिएको बिदाइ सन्देशमा उनले अध्यक्षदेखि केन्द्रीय, जिल्ला, गाउँपालिका र वडा तहका नेताहरूले सहयोग र मार्गदर्शन गरेकोमा आभार व्यक्त गर्दै, आफूसँग रहेको प्रत्येक जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको दाबी गरेका छन्। उनले भनेका छन्— “आजसम्म म कुनै व्यक्तिको अहित हुने काम कहिल्यै गरेको छैन। पार्टी छोड्नु कुनै वैमनस्यका कारण होइन, नेतृत्वमा देखिएको गलत दिशाको परिणाम मात्र हो।”

यादवले “जय मधेस” शब्दले स्टाटस अन्त्य गर्दै पार्टीबाट औपचारिक रूपमा अलगिएको घोषणा गरेका हुन्।

उनी निस्किएसँगै स्थानीय राजनीतिक वृतमा ठूलो हलचल सिर्जना भएको छ। जसपा नेपालका एक स्थानीय नेताका अनुसार, यादवको पार्टी त्यागपछि तिलाठी–कोइलाडीमा पार्टीको संरचना धराशायी हुने संकेत देखिएको छ। उनका अनुसार, यादवसँग नजिक रहेका १,००० भन्दा बढी कार्यकर्ताले पनि जसपा नेपाल छोड्ने सम्भावना अत्यधिक रहेको दाबी गरिएको छ।

स्थानीय राजनीतिक विश्लेषक र कार्यकर्ताहरूले भनेका छन्– “पालिकामा मात्र होइन, जिल्ला स्तरमै जसपा नेपाल कमजोर भएको छ। गलत नेतृत्व, आन्तरिक मनोमालिन्य र कार्यकर्ताको सम्मान अभावले पार्टी टुक्रिने अवस्था आएको हो।”

यादवको पार्टी त्यागलाई तिलाठी–कोइलाडीको राजनीतिमा ठूलो झट्का मानिएको छ, जसको प्रभाव आगामी चुनाव र संगठन पुनर्गठतरूपी प्रयासमा गहिरो देखिने आँकलन गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button