जसपा नेपालसमाचार

इन्जिनियर यादव जसपा नेपाल परित्याग : “युवा नेतृत्वको गला घोंट्ने पार्टीमा भविष्य छैन”

पब्लिक प्रेस
नविन निर्भय यादव ।
सप्तरी, – जनता समाजवादी पार्टी (जसपा) नेपालका सक्रिय नेता तथा प्राविधिक क्षेत्रमा सशक्त योगदान दिएका इन्जिनियर संजिव नरायण यादवले पार्टीका सम्पूर्ण जिम्मेवारी त्याग गर्दै औपचारिक रूपमा जसपा नेपाल परित्याग गरेका छन्। यादवले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि, समाजवादी इन्जिनियर्स नेपालका केन्द्रीय सह–अध्यक्ष तथा जसपाको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “केही कार्यव्यस्तताका साथै युवालाई नेतृत्व नदिने, भातृ संगठनमा सीमित राखेर गुमराह बनाउने प्रवृत्तिका कारण मैले पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र लोकतन्त्रको अभाव छ। नयाँ पुस्तालाई सधैँ पछाडि पार्ने, पुरानै संरचनामा अल्झिने प्रवृत्तिका कारण अब सहकार्य असम्भव देखियो।”

२०७३ सालदेखि पार्टी राजनीतिमा

इन्जिनियर यादव २०७३ सालदेखि जसपाको राजनीतिक गतिविधिमा सक्रिय थिए। २०७५ सालदेखि उनले पार्टीका विभिन्न तह र संगठनहरूमा जिम्मेवारी सम्हाल्न थालेका थिए। खासगरी, प्रविधि र युवा वर्गलाई संगठित गर्ने अभियानमा उनी अग्रपंक्तिमा रहँदै आएका थिए।

उनको नेतृत्वमा २०७१ सालमा संजिव यादवको संयोजनमा गठन भएको मधेस इन्जिनियर्स एशोसिएसनले संगठनात्मकरूपमा उल्लेखनीय फड्को मारेको थियो। ५०० भन्दा बढी इन्जिनियरहरूलाई एकसाथ संगठित गर्दै जसपा नेपालमा भित्र्याउने अभियानमा इन्जिनियर यादवको भूमिका निर्णायक रह्यो। तीमध्ये अधिकांश मधेसका शिक्षित, प्राविधिक र सचेत युवाहरू थिए।

२०७९ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी

पार्टीभित्र बढ्दो असन्तोष र दिशाहीन नेतृत्वशैलीका कारण यादवले २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गरेका थिए। उनी जसपाका बलियो कार्यकर्ता भए पनि, पार्टी नेतृत्वले उनलाई अवसर नदिएको भन्दै उनी स्वतन्त्र रूपमा मैदानमा उत्रिएका थिए। यस कदमले तत्कालीन समयमा मधेसमा पार्टी नेतृत्वविरुद्ध असन्तुष्टहरूको आवाजलाई झनै स्पष्ट बनाएको थियो।

“युवालाई गुमराह बनाउने प्रवृत्ति डरलाग्दो छ”

पार्टी त्यागको कारणबारे स्पष्ट रूपमा धारणा राख्दै यादवले भनेका छन्, “वर्षौँदेखि पार्टीले युवालाई केवल भातृ संगठनमा सीमित राख्दै आएको छ। नेतृत्वमा पुराना अनुहारहरू मात्र छन्, न त उनीहरूले परिवर्तन गर्न सक्छन्, न त नयाँ नेतृत्व तयार पार्न। यो प्रवृत्ति अब सह्य छैन।”

उनले थप भनेका छन्, “पार्टीमा संरचनात्मक विकृति मात्र छैन, संस्कारगत अधिनायकवाद पनि व्याप्त छ। सोच्ने, बोलेका युवालाई चुप लगाइन्छ, संगठनात्मक बैठकमा आवाज उठाउनेलाई उपेक्षा गरिन्छ।”

मधेस इन्जिनियर्सको झिनो आशा पनि समाप्त

इन्जिनियर यादवको राजीनामा मधेस इन्जिनियर्स संगठनको भावी भविष्यप्रति पनि प्रश्न उठाउँछ। उनले संगठनलाई जसपा भित्र्याउँदा जसपाको नीति, विचार र मधेसप्रतिको प्रतिबद्धतामा विश्वास गरेका थिए। तर, पछिल्लो समयमा त्यही संगठनका अधिकांश सदस्यहरू पार्टीबाट विमुख हुन थालेका छन्।

विशेषज्ञहरू भन्छन्, “जसपा नेपालले मधेसका पढेका, दक्ष र सक्षम युवालाई संगठित गर्ने दुर्लभ अवसर गुमाएको छ। यादवजस्तो इमान्दार, निस्वार्थ, प्राविधिक पृष्ठभूमिका नेताले पार्टी त्याग्नु भनेको जसपाको ठूलो क्षति हो।”

अबको बाटो

इन्जिनियर यादवले अबको राजनीतिक यात्रा कुन पार्टी वा अभियानसँग गर्ने भन्नेबारे खुलासा गरेका छैनन्। तर, उनले भनेका छन्, “हामी यस्तो राजनीतिक विकल्पको पर्खाइमा छौं, जहाँ युवाले नेतृत्व पाउँछन्, मधेसको हकहित बोल्न पाइन्छ, र निष्ठाका आधारमा सम्मान मिल्छ।”

उनको यो अभिव्यक्तिले संकेत गर्छ कि उनी आगामी दिनमा कुनै नयाँ राजनीतिक अभियान, वा नयाँ संरचनामा प्रवेश गर्न सक्नेछन्। यो सम्भावनालाई दृष्टिगत गर्दै मधेसका राजनीतिक विश्लेषकहरू भन्दैछन् – “अब मधेसको राजनीति फेरि युवाको आवाजमा फर्कने छ, जसपा पुरानै शैलीमा अल्झिरहँदा अरू पार्टीले त्यसको लाभ उठाउनेछन्।”

इन्जिनियर संजिव नरायण यादवको जसपा परित्याग सामान्य घटना होइन। उनले जसपाभित्र प्रवेश गराएको इन्जिनियर युवाको ठूलो समूह, संगठनात्मक योगदान र वैचारिक स्पष्टताले उनलाई मधेसको राजनीतिमा एक सशक्त युवानेता बनाएको छ।

उनले उठाएका प्रश्नहरू केवल व्यक्तिगत असन्तुष्टि होइन, त्यो त पार्टीभित्रको मौन असन्तोषको प्रतिनिधि स्वर हो। अब मधेसको राजनीति कुन दिशातर्फ मोडिन्छ भन्ने हेर्न बाँकी छ – तर यादवको निर्णयले पार्टीहरूलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनाउने निश्चित छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button