काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको ५२औं बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा विस्तृत जानकारी गराउनु भयो।
बैठकले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताको बलिदानपूर्ण संघर्षलाई स्मरण गर्दै आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। नेकपाले जनमत निर्माण गर्ने लक्ष्यसहित विभिन्न सांस्कृतिक एवं जनसहभागिताका कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ।
बैठकले काठमाडौं उपत्यकाभित्र पार्टी सम्वद्ध संगठनहरू मार्फत सांस्कृतिक झाँकीसहितको विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै, उपत्यका बाहिर प्रत्येक पालिकामा पार्टी कमिटीहरूको पहलमा विविध कार्यक्रमहरू आयोजना गरिनेछ। पालिका स्तरका कार्यक्रमहरूलाई प्रदेश र जिल्ला कमिटीले संयोजन गर्ने जिम्मेवारी पाएको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन नेकपा केन्द्रीय कार्यालय तथा प्रदेश कमिटी मार्फत नेतृत्व परिचालन गरिनेछ। स्थानीय तहका संघ-संस्थाहरूलाई गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम गर्न प्रेरित गरिनेछ।
प्रदेश र जिल्ला कमिटीहरूले संचालित कार्यक्रमहरूको विवरण संकलन गरी नेकपा केन्द्रीय कार्यालयमा पठाउने निर्णय समेत भएको बैठकमा जानकारी गराइयो।
नेकपाले आमजनतालाई गणतन्त्र दिवस भव्य रूपमा मनाउन आह्वान गरेको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।