पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।
वीरगञ्ज घर भएकी कम्प्यूटर साइन्स संकायको प्रथम बर्षमा अध्ययनरत रहकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी साह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाबारे अनुसन्धान सुरु भएको छ ।’
उनले साहको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए ।
‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं । घरबाट अभिभावक आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर भनेका छौं,’ कन्सुलर शर्माले भने । उनका अनुसार साह होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।
त्यस्तै, गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । लम्सालले आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।
त्यसपछि लम्सालको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।









