पब्लिक प्रेस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ (साबिक सखुवा पत्थरगाढा १ देखि ९) मा गाउँ ब्लकअन्तर्गतका जग्गाधनीहरूलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। नापी कार्यालय सप्तरी, राजविराजको आयोजनामा तथा वडा कार्यालयको सौजन्य र व्यवस्थापनमा सम्पन्न कार्यक्रममा ३५१ परिवारलाई पुर्जा वितरण गरिएको हो।
नापी कार्यालय सप्तरीका प्रमुख शत्रुघ्न प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरी क्षेत्र नं. ३ का प्रत्यक्ष निर्वाचित सांसद अमरकान्त चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह र उपप्रमुख मीरा कुमारी यादव विशिष्ट अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव विशेष अतिथिका रूपमा उपस्थित थिए।
पत्थरगाढा क्षेत्रमा करिब ६१ बिघा गाउँ ब्लक जग्गामध्ये हालसम्म करिब ४० बिघाको जग्गाधनी पुर्जा तयार भइसकेको नापी कार्यालयले जनाएको छ। बाँकी कित्ताहरूमा दाबी–विरोध तथा ‘तेरो–मेरो’ विवाद रहेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी फर्छ्योटपछि मात्र पुर्जा उपलब्ध गराइने जनाइएको छ।
कार्यक्रममा केही व्यक्तिको पुर्जा विभिन्न कारणले तयार हुन नसक्दा असन्तुष्टि जनाउँदै टीका–टिप्पणीसमेत भएको थियो।
लालपुर्जा वितरणका क्रममा प्रति व्यक्तिबाट २५ रुपैयाँ राजश्व लाग्ने व्यवस्था रहे पनि उक्त शुल्क वडा अध्यक्ष कर्णदेव चौधरीले जनताको तर्फबाट आफूले नै व्यहोरेको बताएका छन्। गाउँ ब्लकको जग्गाधनी पुर्जा तयारीदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रियामा वडा अध्यक्ष चौधरीको सक्रिय भूमिका रहेको बताइएको छ।









