प्रहरी प्रशासनसमाचार

२ महिनादेखि हराएको बालक, पत्रकार सम्मेलनको २४ घण्टाभित्रै फेला

राजविराज, सप्तरी — करिब दुई महिनादेखि बेपत्ता रहेका एक बालकलाई सप्तरी प्रहरीले सकुशल फेला पार्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाका जय कृष्ण यादवका १४ वर्षीय छोरा अमन कुमार यादव कोशी मेलाबाट हराएका थिए।
बालक हराएको भनी परिवारले प्रहरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका युनिटहरूबाट खोजतलास तीव्र पारिएको थियो। सोही क्रममा मिति २०८२ चैत २८ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित हनुमाननगर बजार क्षेत्रबाट उनलाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले बालकलाई फेला पारी आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय हनुमाननगर हुँदै परिवारको जिम्मा लगाएको हो। प्रहरीका अनुसार बालकलाई अन्दाजी दिउँसो २:३० बजे उनका बुबा जय कृष्ण यादव लगायत आफन्तजनको उपस्थितिमा बुझाइएको थियो।
यसैबीच, पीडित परिवारले आशंकाका आधारमा स्थानीय रामदेव यादव र कारी यादवमाथि बालक अपहरण गरिएको आरोप लगाएका थिए। सो विषयमा चैत २७ गते पत्रकार सम्मेलनसमेत आयोजना गरिएको थियो।
रोचक पक्ष के भने, उक्त पत्रकार सम्मेलन भएको २४ घण्टा नबित्दै बालक सकुशल फेला परेको हो। पीडित परिवारले बालकको खोजीमा सहयोग पुर्‍याउने सञ्चारकर्मी तथा सम्पूर्ण सप्तरीबासीप्रति आभार प्रकट गरेका छन्। बालकका काका पशुपति यादवका अनुसार सबैको साथ र सहयोगका कारण बालकलाई सुरक्षित रूपमा फेला पार्न सम्भव भएको हो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button