पब्लिक प्रेस ।
सप्तरीको कञ्चनपुर क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले विशेष सूचनाका आधारमा करिब १०५.५ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८२ फागुन ३० गते साँझ करिब ५:३० बजे सप्तरीको तिरहुत गाउँपालिका–२ बडहरा स्थित कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षककाे कमाण्डमा खटिएको सात जनाको टोलीले कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा अटोभित्र रहेका तीन वटा सेतो बोरा र एक वटा पहेँलो बोरा खोलेर हेर्दा कालो प्लास्टिकमा प्याक गरिएको ६ वटा पोका फेला परेको प्रहरीले जनाएको छ। ती पोकाहरूको तौल गर्दा प्लास्टिकसहित १११.८ केजी र बोरा तथा प्लास्टिक बाहेक १०५.५ केजी गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो।
घटनामा संलग्न रहेको आरोपमा अटो चालक सप्तरी कञ्चनरूप नगरपालिका–७ सितापुरका अन्दाजी ४३ वर्षीय ओमप्रकाश भन्ने जामुन महतो र अटोमा सवार सोही स्थानका अजय सरदारकी श्रीमती अन्दाजी २८ वर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ र अटो सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
(अन्य विवरण आउन बाँकी)
0 1 minute read










