पब्लिक प्रेस ।
सप्तरी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं. २ बाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट सूर्यनाथ यादव ‘सुभाष’ ले उम्मेदवारी दर्ता गराएका छन्। गरिब, दलित, भूमिहीन, किसान र मजदुर वर्गको हक–अधिकार सुनिश्चित गर्न संघर्षरत सुभाषको उम्मेदवारीलाई वर्गीय चेतनाको प्रतिनिधिका रूपमा हेरिएको छ।
उम्मेदवारी दर्ताका क्रममा श्रमिक, दलित समुदायका अगुवा, युवा तथा पार्टी कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। राज्यसत्ताबाट सधैं उपेक्षित र शोषित वर्गको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा सुभाषप्रति जनविश्वास बढ्दो देखिएको छ।
उम्मेदवारीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार सूर्यनाथ यादव ‘सुभाष’ले आफ्नो उम्मेदवारी सत्ता, सुविधा वा व्यक्तिगत स्वार्थका लागि नभएको स्पष्ट पारे। उनले भने, “यो उम्मेदवारी उत्पीडित वर्गको आवाज संसदसम्म पुर्याउने राजनीतिक जिम्मेवारी हो। गरिब, दलित, भूमिहीन र श्रमिक वर्गमाथि भइरहेको अन्याय, शोषण र दमनविरुद्ध संघर्षलाई संस्थागत गर्ने उद्देश्यले म अघि बढेको हुँ।”
सुभाषले सामन्तवादी सोच, पूँजीवादी शोषण र विभेदकारी संरचनाको अन्त्य बिना समाजमा वास्तविक परिवर्तन सम्भव नहुने बताए। उनले जनताको पक्षमा राज्यसत्ता प्रयोग गर्ने, सामाजिक न्याय स्थापित गर्ने र श्रमिक वर्गको जीवनस्तर उकास्ने नीतिका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गरे।
सप्तरी क्षेत्र नं. २ मा गरिबी, बेरोजगारी र सामाजिक असमानताको समस्या गहिरो रहेको उल्लेख गर्दै उनले विद्यमान राज्य संरचना आमजनताको हितभन्दा पर गएको आरोप लगाए। माओवादी केन्द्रको राजनीतिक एजेन्डा वर्गीय मुक्तिसँग जोडिएको भन्दै उनले जनताको संगठित शक्ति मार्फत परिवर्तन सम्भव हुने धारणा राखे।
स्थानीय स्तरमा देखिएको समर्थन र सहभागिताले सप्तरी क्षेत्र नं. २ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यनाथ यादव ‘सुभाष’लाई उत्पीडित वर्गको सशक्त प्रतिनिधिका रूपमा हेरिन थालिएको छ।









