पब्लिक प्रेस ।
सप्तरी जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरी टोलमा आगलागी हुँदा करिब छ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विहिबार साझकाे समयमा स्थानीय योगेन्द्र यादवको बाँसको टाटीले बनेको फुसको छानो भएको एक कोठे घरमा पूजा गर्न बालिएको दियोबाट अचानक आगो सल्किँदा आगलागी भएको हो।
आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी पोस्ट त्रिकोल, सप्तरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली, कञ्चनरुप नगरपालिका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा साँझ ३ घन्टा पछि आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ। साथै घरभित्र रहेका काठको दराज दुई थान, स्टिलको दराज एक थान, करिब ३५ तोलाको चाँदीका विभिन्न गरगहना, करिब ३ तोलाको सुनका मंगलसूत्र, नाकको फुली लगायतका गरगहना, नगद रु. १ लाख २५ हजार, ४० मन धान, १० मन चामल, खेतको लालपुर्जा, नागरिकता तथा अन्य महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन्।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको कुल क्षति करिब रु. ६ लाख बराबर रहेको प्रारम्भिक अनुमान गरिएको छ।
0 1 minute read










