पब्लिक प्रेस/राजविराज
निजामती सेवामा लामो समय समर्पित जीवन बिताएका गोबिन्द यादव आज औपचारिक रूपमा सेवाबाट बिदा भएका छन्। महादेवा गाउँपालिका–४ स्थित वडा कार्यालय डाढामा आयोजित भावुक कार्यक्रममा पाँचौँ तहका कर्मचारी यादवलाई सम्मानसहित बिदाइ गरियो।
२०४४ साल असार ३२ गते स्वास्थ्य सेवाबाट निजामती यात्राको सुरुवात गरेका यादवले पहाडी भेगमा ६ वर्ष सेवा गर्दै जनस्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए। त्यसपछि करिब २० वर्ष स्वास्थ्य सेवामै सक्रिय रहेर उनले राज्यका सेवाहरू जनताको ढोकासम्म पुर्याउने कार्यमा भूमिका निर्वाह गरे।
समयसँगै स्थानीय शासन प्रणाली सुदृढ हुँदै जाँदा यादव स्थानीय तहमा सरुवा भए। १२ वर्षसम्म वडा सचिवको रूपमा कार्यरत रहँदा उनले प्रशासनिक सेवा, विकास आयोजना, नागरिक सेवा र जनप्रतिनिधिसँगको सहकार्यमा उल्लेखनीय भूमिका खेले।
२०८२ साल पुस २८ गते अनिवार्य अवकाशमा पुगेका यादवको सेवायात्रा केवल पद र जिम्मेवारीमा सीमित रहेन, बरु इमानदारी, अनुशासन र जनमुखी सोचको उदाहरणका रूपमा स्मरणीय बन्यो। बिदाइ कार्यक्रममा वडाध्यक्ष जुगेश्वर साहसहित कर्मचारीहरूले अबिरमाला र दोसल्ला ओढाएर उनको योगदानको कदर गरे।
गोबिन्द यादवको अवकाशसँगै एउटा अनुभवी निजामती सेवकको अध्याय समाप्त भएको छ, तर उनले छाडेका काम, अनुभव र सेवाभाव भने स्थानीय तहमा लामो समयसम्म प्रेरणाका रूपमा रहनेछन्।










