पब्लिक प्रेस ।
सप्तरी।समावेशी शासन, स्वतन्त्रताको प्रोत्साहन तथा नेपालका अपाङ्गता भएका महिला र किशोरीहरूका लागि रूपान्तरीत वातावरण निर्माण गर्ने उद्देश्यसहित सञ्चालन हुने परियोजनाको परिचयात्मक बैठक सोमबार तिलाठी कोइलाडी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
नेपाल अपाङ्ग महिला संघको नेतृत्वमा सञ्चालन हुन लागेको उक्त परियोजनामा प्राविधिक साझेदारका रूपमा सिबिएम (CBM) र सह–कार्यान्वयन संस्थाका रूपमा मुक्ति नेपाल रहेका छन्। बैठकमा परियोजनाको उद्देश्य, कार्यक्षेत्र, लक्षित समूह तथा अपेक्षित उपलब्धिहरूबारे विस्तृत जानकारी गराइएको थियो।
परियोजनाका प्राथमिक लाभग्राही तथा लक्षित समूहका रूपमा १० वर्ष वा सोभन्दा माथिका अपाङ्गता भएका महिला र किशोरीहरू तथा हिंसाबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। यस समूह अन्तर्गत कुल १० हजार ८ सय जना प्रत्यक्ष लाभग्राही रहने जानकारी दिइएको छ।
त्यसैगरी, द्वितीय लाभग्राही तथा लक्षित समूहमा स्थानीय सरकार, नीति निर्माताहरू, सामुदायिक नेताहरू, अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्थाहरू (OPDs), महिला अधिकार समूह, सञ्चारमाध्यम, महिला मानव अधिकार रक्षक सञ्जाल, सुरक्षा तथा कल्याण रक्षक (SWD) नेटवर्क, VAWGs प्रतिक्रिया समूह (VRGs), शिक्षक–विद्यार्थी, सामुदायिक च्याम्पियन, परिवारका सदस्य तथा हेरचाहकर्ताहरू, सञ्चार सल्लाहकार, कार्यान्वयन साझेदार र सामुदायिक अधिवक्ताहरू समावेश छन्। यस समूहमा करिब २४ हजार जना लाभान्वित हुने अनुमान गरिएको छ।
बैठकमा सहभागी स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समुदायका अगुवाहरूले अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, सहभागिता र नेतृत्व विकासका लागि परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। परियोजनामार्फत समावेशी नीति निर्माण, हिंसा न्यूनीकरण, सामाजिक चेतना अभिवृद्धि र पहुँचयुक्त वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।बैठक तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष फुल कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।










