पब्लिक प्रेस ।
सुनसरी जिल्लाकाे कोशी गाउँपालिका–१ लौकहीमा सिटी रिक्सा चालकको गोली हानी हत्या भएपछि सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ। घटनामा लौकही निवासी विजय साह (४०) को मृत्यु भएको छ।
विगत १० वर्षदेखि सिटी रिक्सा चलाएर परिवार पाल्दै आएका साह तीन नाबालक सन्तानका पिता हुन्। उनका दुई छोरा ११ र १३ वर्षका तथा एक ७ वर्षीया छोरी छन्। उनका पिता स्वर्गीय मिसरी लाल साह हुन्।
स्थानीयका अनुसार गएराति करिब ३ बजे मोबाइल फोनमार्फत सिटी रिक्सा रिजर्भका लागि फोन आएपछि साह घरबाट निस्किएका थिए। केही समयपछि शस्त्र प्रहरी बलको पोस्ट नजिकै उनको छातीमा गोली लागेको अवस्थामा शव फेला परेको हो।
स्थानीय स्रोतको दाबी अनुसार शस्त्र प्रहरी बलका एक सदस्यले विजय साहसँग ५०० रुपैयाँ माग गरेका थिए। त्यस क्रममा साहले “म इस्पेक्टर साहेबलाई नियमित दिँदै आएको छु, तपाईंलाई कहाँबाट दिने ? जसको माल हो उसैसँग माग्नुस्। म एक मजदुर हुँ, मजदुरी गरेर छोराछोरीको पालन–पोषण गर्दै आएको छु” भन्दै रकम दिन असमर्थता जनाएका थिए।
त्यसपछि ती शस्त्र प्रहरी सदस्यले उनीमाथि गोली प्रहार गरेको स्थानीयको आरोप छ। घटनामा करिब ५ राउन्ड गोली फायरिङ भएको बताइएको छ। जसमध्ये २ गोली साहको शरीरमा लागेको, २ गोली जमिनमा खसेको र १ गोलीको अवस्था खुलेको छैन।
घटनापछि आक्रोशित स्थानीयवासीहरूले गोली हानी हत्या गरिएको आरोप लगाउँदै शव उठाउन नदिएका छन्। दोषी शस्त्र प्रहरीलाई तत्काल नियन्त्रणमा लिएर कडा कारबाहीको माग गर्दै स्थानीय सडकमा उत्रिएका छन्। ठूलो संख्यामा स्थानीय भेला भएपछि क्षेत्र अत्यन्त तनावग्रस्त बनेको छ।
प्रहरी स्रोतका अनुसार हालसम्म घटनाबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। शव घटनास्थलमै राखिएको छ भने अवस्था नियन्त्रणमा लिन तथा थप अनुसन्धानका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। गोली प्रहारमा संलग्न भनिएका शस्त्र प्रहरी सदस्यलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
निहत्था मजदुरमाथि राज्यको सुरक्षा निकायबाट भएको भनिएको यस घटनाले गम्भीर मानवअधिकार प्रश्न उठाएको स्थानीयको भनाइ छ। निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयको आन्दोलन जारी रहेको छ।










