प्रहरी प्रशासन

प्रहरी सहायक निरीक्षक तामाङको सक्रियतामा लागुऔषधसहित युवक पक्राउ

 

पब्लिक प्रेस ।

सप्तरी। लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीले फेरि एकपटक उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कुशल नेतृत्व र सक्रियतामा लागुऔषधसहित एक युवकलाई पक्राउ गर्न प्रहरीले सफलता पाएको हो।
मंगलबार दिउँसो सुरुङ्गा नगरपालिका–१ स्थित सुस्लिङ टोल नजिक चहका खोलामा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा मोटरसाइकल जाँच गर्ने क्रममा युवकलाई नियन्त्रणमा लिएको थियो। नियमित गस्तीलाई प्रभावकारी बनाउँदै समाजलाई लागुऔषधको कुलतबाट जोगाउने उद्देश्यसहित परिचालित टोलीले समयमै सूचना संकलन र सूक्ष्म निगरानीका आधारमा उक्त कारबाही गरेको हो।
पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ रामजानकी टोल निवासी ओमप्रकाश चौधरीका छोरा अन्दाजी २२ वर्षीय रुपेश कुमार चौधरी रहेका छन्। उनले चलाइरहेको प्रदेश–१–०५–००१ प ९०८८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधमा विभिन्न किसिमका ट्याब्लेट, इन्जेक्सन तथा एम्पुलहरू रहेका छन्, जसले लागुऔषध कारोबार संगठित रूपमा भइरहेको आशंका बलियो बनाएको छ। साथै, एक थान iPhone 12 Pro समेत बरामद गरिएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ पछिल्लो समय लागुऔषध, जुवातास तथा शान्ति सुरक्षा कायम गर्न निरन्तर सक्रिय रहँदै आएका छन्। उनको नेतृत्वमा प्रहरीले गरेको नियमित गस्ती र कडा निगरानीका कारण आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू त्रसित बनेका छन्।
प्रहरीले बरामद लागुऔषध, मोटरसाइकल तथा अन्य सामग्रीसहित नियन्त्रणमा लिइएका युवकलाई इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button