पब्लिक प्रेस ।
सप्तरी, साउन ९ — जिल्ला प्रहरी कार्यालय, सप्तरीले प्रहरी सहायक हवल्दार अशोक साह कानूलाई २०८३ असार महिनाको “बेस्ट डिस्ट्रिक्ट पुलिस अफ द मन्थ (Best District Police of the Month)” घोषणा गरेको छ।
प्रहरी सहायक हवल्दार कानूको स्थायी दरबन्दी प्रहरी चौकी झुट्की, सप्तरीमा रहे पनि हाल प्रहरी चौकी पत्थरगाडा, सप्तरीमा कार्यरत छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको अक्षरशः पालना गर्दै व्यावसायिक, लगनशील, अनुशासित र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गरेका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
मिति २०८३ असार १९ गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–७ मा २५ वर्षीय बिकु साहमाथि छुरा प्रहार गरी फरार रहेका सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–५ निवासी ३० वर्षीय जितेन्द्र साहलाई खोजतलासका क्रममा २०८३ असार २० गते सप्तरीको रुपनी गाउँपालिका–३ बाट पक्राउ गर्न प्रहरी सहायक हवल्दार कानूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पक्राउ परेका अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको थियो।
संगठनको नीति, निर्देशन तथा मूल्य–मान्यता अनुरूप त्रुटिरहित, मर्यादित, अनुशासित र व्यावसायिक ढंगले कार्यसम्पादन गरेको उच्च मूल्याङ्कन गर्दै “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” बमोजिम उनलाई २०८३ असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काले प्रहरी सहायक हवल्दार कानूलाई बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रवाह गर्दै संगठनको गरिमा उच्च राख्न सफल हुने विश्वास व्यक्त गरेका छन्










