पब्लिक प्रेस ।
सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा प्रहरीको संयुक्त टोलीले करिब एक टन अवैध लागुऔषध (गाँजा) सहित एक ट्रक र चालकलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले ना ५ ख ५३५ नम्बरको ट्रकबाट फल्सबटम बनाइ लुकाइ–छिपाइ ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा फेला पारेको हो।
विहिबार राति करिब २२ः३० बजे तैनाथ प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जाँदै गरेको ट्रक रोकेर चेकजाँच गर्दा २८ वटा सेतो बोरा, प्लास्टिकले प्याक गरिएको अवस्थामा ९८९ केजी तौलको गाँजा बरामद गरिएको छ। बोरा र प्लास्टिक हटाएको कच्चा तौल मात्र ९७८ केजी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्र.ना.उ. डम्बर बहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्र.ना.उ. माधव प्रसाद काफ्लेको संयुक्त कमाण्डमा खटिएको टोलीले ट्रकका चालक सुनसरी, धरान–१३ का २५ वर्षीय संजय श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको हो। बरामद गरिएको ट्रक र गाँजा समेत इप्रका कञ्चनपुरमा राखिएको छ।
कारबाहीबारे जानकारी दिँदै डीएसपी माधव प्रसाद काफ्लेले भने,
“लागूऔषध संचालनको ठूलो तस्करी शृंखला शंका लाग्ने गरी ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्नहरूबारे थप अनुसन्धान भइरहेको छ।”
प्रहरीले घटनालाई ठूलो अवैध तस्करी शृंखलासँग जोडेर अनुसन्धान विस्तार गर्ने जनाएको छ।










