समाचारसमाज

चुल्हो वितरणमा नातावाद र कृपावाद: जनप्रतिनिधिका छोरा–बुहारी सूचीमा, वास्तविक गरिब बाहिर

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ मा सधारीएको चुल्हो, वायुग्यास चुल्हो तथा विद्युतीय चुल्हो वितरण प्रक्रियामा गम्भीर नातावाद र कृपावाद भएको आरोप सार्वजनिक भएको छ। वडा नं. १ का वडा अध्यक्ष ललन प्रसाद यादव तथा वडा सदस्यका नजिकका आफन्त र नातागोता व्यक्तिहरू नै चुल्हो वितरणको लाभग्राही नामसूचीमा समावेश गरिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार लाभग्राही नामसूचीका सिरियल नम्बर ९६, ९८, ९९, १००, १०१, १०३, १०४, १०६, १०९, ११०, १११ र ११२ लगायतका नम्बरमा जनप्रतिनिधिका आफन्तहरूको नाम समावेश गरिएको छ। ती व्यक्तिहरू आर्थिक रूपमा सबल भए पनि सेवा पाउने सूचीमा अटाइएको दाबी गरिएको छ।
स्थानीयवासीका अनुसार वडा अध्यक्ष ललन प्रसाद यादवका जेठो छोरा, जेठी बुहारी, कान्छो छोरा र कान्छी बुहारीलगायत परिवारका सदस्यहरू नामसूचीमा परेका छन्। त्यस्तै, वडा सदस्य गुल्टेन यादवका छोरा, बुहारी, भतिजा, भाइ तथा उनका परिवारका सदस्यहरू समेत राहत पाउने सूचीमा समावेश गरिएको स्थानीयको भनाइ छ।
उता, वडा भित्र जग्गा–जमिन नभएका, दाउराको भरमा खाना पकाउन बाध्य वास्तविक गरिब तथा विपन्न परिवारहरू भने सेवाबाट वञ्चित भएको गुनासो बढ्दो छ। “गरिब जनता वर्षौंदेखि सेवा सुविधाको आशामा छन्, तर जनप्रतिनिधिका छोरादेखि बुहारीसम्मले सधारीएको चुल्हो पाउनु लज्जास्पद हो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
स्रोतका अनुसार कुल २०६ जनालाई सेवा वितरण गर्न लागिएको नामसूचीमा अधिकांश जनप्रतिनिधि र उनका आफन्तहरू समावेश छन्। यस विषयमा प्रतिक्रिया लिन वडा अध्यक्ष सँग पटक–पटक सम्पर्क गर्न फाेन सम्पर्क भएन ।
सधारीएको तथा विद्युतीय चुल्हो वितरण कार्यक्रम प्रविधिगत लागत साझेदारी अन्तर्गत सञ्चालन भइरहेको छ। यस कार्यक्रममा जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, स्थानीय तह (छिन्नमस्ता गाउँपालिका) तथा उपभोक्ताबीच लागत साझेदारी गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button