समाचार

एमालेको गर्जन : “सबै कार्यकर्ता केपी ओली हुन्”

पब्लिक प्रेस ।

सप्तरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र एकताको सन्देश दिँदै “एमालेका सबै कार्यकर्ता केपी ओली हुन्” भन्ने नारा उठाएका छन्। राजविराजस्थित मदननगर पार्टी कार्यालयमा मंगलबार  भएको बैठकमा एमाले नेताहरूले संगठनभित्रको अनुशासन, जिम्मेवारी र आगामी जनप्रदर्शनबारे स्पष्ट सन्देश दिएका हुन्।

बैठकको अध्यक्षता जिल्ला अध्यक्ष तराकान्त चौधरीले गरेका थिए भने प्रमुख अतिथि जिल्ला इन्चार्ज सुमन प्याखुरेल र विशेष अतिथि पूर्व गृहमन्त्री राजकुमार लेखी रहेका थिए। कार्यक्रममा प्रदेश, केन्द्रीय र जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा बोल्दै प्रमुख अतिथि प्याखुरेलले भने, “एमालेका सबै कार्यकर्ता केपी ओली हुन्। पार्टीमा कोही अलग होइन, सबै एउटै विचार र लक्ष्यका साथ अघि बढेका छन्। देशका लोकतान्त्रिक उपलब्धि र जनताको अधिकारमाथि भइरहेको प्रतिगामी षड्यन्त्रको प्रतिकार गर्न एमाले एकजुट छ।”

त्यसैगरी जिल्ला सचिव देवनाथ यादवले पार्टीको निर्देशन र अनुशासन पालनामा कमजोरी देखाउनेहरूलाई सचेत गराउँदै भने, “पदमा बसेर जिम्मेवारी नपुरा गर्ने वा पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई अब सह्य गरिँदैन।”

बैठकमा सहभागी नेताहरूले वडा, पालिका र जिल्ला तहमा हुने जनभेला तथा जनप्रदर्शनको तयारीलाई अन्तिम चरणमा पुर्‍याउने निर्णयसमेत गरेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button