समाज

सार्वजनिक स्थलमै महिलामाथि कोदालो प्रहार : पूर्व शिक्षकद्वारा ज्यान मार्ने प्रयासको आरोप

सप्तरी ।
तिलाठी कोईलाडी गाउँपालिका–६ मा मंगलबार विहान सार्वजनिक स्थलमै एक महिलामाथि कोदालोको बेट प्रहार गरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। स्थानीय समय अनुसार करिब ८ बजे घरायसी विवादको कारण ४० वर्षीया सरिता देवी साहमाथि ४९ वर्षीय पूर्व शिक्षक श्याम नारायण साहले प्रहार गरेको बताइएको छ।

घटनास्थल गाउँको सडक छेउमा रहेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार विवाद चर्किएपछि साहले कोदालोको बेट प्रयोग गरी महिलामाथि प्रहार गरे। आक्रमणपछि पीडित ढलेकी थिइन्। स्थानी नविन सिंहले उनलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए।

पीडित सरिता देवीका अनुसार, श्याम नारायण साहले पछिल्ला दुई महिनादेखि उनलाई विभिन्न बहानामा पछ्याउने, जिस्क्याउने र मानसिक दवाव दिने कार्य गर्दै आएका थिए।
“एक हप्ता अघि साँझ छोरालाई दिशा–पिसाब गराउन गएकी बेला उनले ‘मेरो पछि हिँड’ भन्दै जिस्क्याएका थिए,” सरिताले बताइन्। “म अस्वीकार गरेपछि उनी रिसाए र मंगलबार निहु खाेज्दै कोदालोको बेटले प्रहार गरे।”

आक्रमणमा परेकी सरिता देवीको दाहिने काँध, घुँडो र शरीरका विभिन्न भागमा चोट लागेको नविन सिंहले बताएका छन्। हाल उनी जिल्ला अस्पतालमा उपचाररत छिन्।
पीडितका श्रीमान प्रमोद साह विगत १७ वर्षदेखि घरपरिवारबाट सम्पर्क बिहिन रहेको र परिवारमा १८ वर्षीया विवाहित छोरी र ५ वर्षीय छोरा रहेका छन्।
आर्थिक अवस्था कमजोर भएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भएको पिडितकाे भनाइ छ।

तिलाठी कोईलाडी गाउँपालिका–६ का वडाध्यक्ष रोशन सिंहले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भने,
“आरोपित व्यक्ति सामाजिक रूपमा जिम्मेवार हुनुपर्ने मान्छे हुन् तर गलत नियतले उनले वेसहारा महिलामाथि बारम्बार दुर्व्यवहार गर्दै आएका छन्। यस्तो आचरण अस्वीकार्य र निन्दनीय छ।”

पीडित सरिता देवीले बुधबार जिल्ला प्रहरी कार्यालयमा औपचारिक निवेदन दिएकी छिन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button