समाचार

महादेवा गाउँपालिकामा सूचना माग गर्दै युवाहरूको सामूहिक निवेदन, अनियमितता र भ्रष्टाचारको आशंका

पब्लिक प्रेस
सप्तरी, – महादेवा गाउँपालिका, सप्तरीका युवाहरूले गाउँपालिकामा बढ्दो अनियमितता र सम्भावित भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गाउँपालिका कार्यालयसमक्ष सार्वजनिक सूचना आईतवार माग गरेका छन्।

रंजित मण्डलको अगुवाइमा युवाहरूले सूचना अधिकारी र अधिकृत राज किसाेर साह समक्ष नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम औपचारिक निवेदन पेश गर्दै पालिकाभित्र सार्वजनिक बजेट र कर्मचारी व्यवस्थापन सम्बन्धी विवरण माग गरेका हुन्।
निवेदनमा विशेषगरी आर्थिक वर्ष २०८२/८३ को सिलिङ्ग बजेट, सो बजेट कुन प्रक्रिया मार्फत कुन-कुन योजनामा बाँडफाँट गरिएको छ भन्नेबारे प्रमाणित प्रतिलिपि माग गरिएको छ। साथै, हाल कार्यरत पालिकाका कर्मचारीहरूको नियुक्ति प्रक्रिया, मिति, तलबभत्ता कुन शीर्षक अन्तर्गत दिइएको छ भन्ने विस्तृत विवरण पनि माग गरिएको छ।

युवाहरूको दाबी अनुसार, पालिकाभित्र जनप्रतिनिधिहरू र कर्मचारीहरू मिलेर सार्वजनिक स्रोतसाधनको दुरुपयोग तथा अपारदर्शी खर्चको आशंका गरिएको छ।
“हामी गाउँपालिका भित्र भइरहेका कामकारबाहीमा पारदर्शिता ल्याउन चाहन्छौं। सार्वजनिक स्रोत जनताको हो भन्ने सोचका साथ सूचना माग गरिएको हो,” निवेदक रंजित मण्डलले जानकारी दिए।

सूचना मागसँगै नागरिकताको प्रतिलिपि समेत संलग्न गरिएको छ। माग गरिएको सूचना यथाशीघ्र नदिए ऐन अनुसार अगामी चरणको कानुनी कार्यवाही अघि बढाइने युवाहरूको चेतावनी छ।

पलिका अधिकृत राजकिशोर साहलाई सो निवेदन बुझाइएको छ। यसबारेमा पालिकातर्फबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button