समाचार

संविधान दिवस असोज ३ गते भव्य रूपमा मनाउने नेकपा (एमाले) को तयारी

पब्लिक प्रेस ।

काठमाडौँ, भदौ ३० – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष मनाइँदै आएको संविधान दिवस यस पटक देशभरिका सबै जिल्लाहरूमा विशेष कार्यक्रमसहित मनाउने पार्टीले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयबाट महासचिव शंकर पोखरेलको हस्ताक्षरमा भदौ ३० गते जारी परिपत्रमा सबै प्रदेश र जिल्ला कमिटीहरूलाई संविधान दिवस भव्य रूपमा मनाउन निर्देशन दिइएको छ।

वि.सं. २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई “संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशीला” भनी उल्लेख गर्दै परिपत्रमा भनिएको छ, “नेपालका जनता पूर्णतः सार्वभौमसत्ता सम्पन्न भएका दिनको ऐतिहासिक महत्वलाई सम्झेर संविधान दिवसलाई विशेष कार्यक्रमका साथ मनाउनु आजको आवश्यकता हो।“

पार्टीले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका दुःखद घटनाहरू र पछिल्लो समय भइरहेको संवैधानिक व्यवस्थाविरुद्धको षड्यन्त्रपूर्ण गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संविधानको रक्षाका लागि ऐक्यबद्धता जनाउनु पर्ने उल्लेख गरेको छ।

“युवाहरूको चाहना र मागको बिपरीत मुलुकलाई प्रतिगमनतिर धकेल्ने प्रयास भइरहेको सन्दर्भमा संविधान दिवसलाई थप सशक्त रूपमा प्रस्तुत गर्नु आवश्यक छ,” परिपत्रमा भनिएको छ।

पार्टीको संविधान दिवस कार्यक्रम अन्तर्गत काठमाडौँ उपत्यकामा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ।

पार्टीका सबै तहका संगठनहरू, नेता तथा कार्यकर्ताहरूलाई आफ्नो-आफ्नो जिल्लामा कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिइएको छ।


पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button