सप्तरीको राजगढ गाउँपालिका स्थित झोहरा चोकमा बुधबार बसेको सर्वदलीय बैठकमा राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले स्व. लालु यादव हत्या प्रकरणमा निश्पक्ष छानबिनका लागि जिम्मेवार प्रहरी अधिकृतको सरुवा अपरिहार्य रहेको स्पष्ट रूपमाबताएका छन्।
स्व. लालु यादवको हत्या भएको एक महिनासम्म पनि दोषी पत्ता लाग्न नसकेको अवस्थामा पीडित परिवार, सर्वसाधारण र विभिन्न राजनीतिक दलहरुले अनुसन्धानमा ढिलाइ र पूर्वाग्रह भएको भन्दै असन्तोष जनाउँदै आएका छन्। यही असन्तोषको बीचमा सर्वदलीय बैठक आयोजित गरिएको थियो।
बैठकमा सहभागी स्थानीय बासिन्दा दिपु यादवका अनुसार अध्यक्ष चौधरीले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भइरहेको आरोप लगाए। “जबसम्म अनुसन्धान गरिरहेका SP लाई फेरेर निष्पक्ष अफसर ल्याइँदैन, तबसम्म न्यायको अपेक्षा गर्न सकिन्न,” चौधरीले भनेको दिपु यादवले जानकारी दिए।
चौधरीले थपे, “यो घटना कुनै साधारण आपराधिक घटना होइन, यसमा गहिरो षड्यन्त्र देखिन्छ। तर दुर्भाग्यवश, प्रहरी प्रशासनले राजनीतिक दबाबमा अनुसन्धानलाई अन्यत्र मोड्न खोजिरहेको देखिन्छ।” उनले मृतक लालु यादवको परिवारलाई तत्काल न्याय दिलाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरे।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
बैठकमा सहभागी नेताहरूले सामूहिक रूपमा चेतावनी दिएका छन् कि यदि सरकारले मागलाई बेवास्ता गर्यो भने सप्तरीमा ठूलो जनआन्दोलन हुनेछ।
बैठकमा सहभागी स्थानीय अगुवा र युवाहरूले भने, “अब धैर्यको सीमा नाघिसकेको छ। यदि राज्यले न्याय दिन सक्दैन भने हामी आफैँ सडकमा ओर्लिन्छौँ।”
अध्यक्ष चौधरीले बैठकको समापन गर्दै भने, “यो कुनै पार्टी विशेषको मुद्दा होइन, यो सम्पूर्ण समाज र जनताको न्यायको प्रश्न हो। हामी सबै एकजुट भएर सत्य उजागर नगरेसम्म नतिरकनेछौँ।”
सर्वदलीय बैठकपछि शान्तिपूर्ण ¥याली पनि निकालिएको थियो, जसमा ‘लालु यादवलाई न्याय दे’, ‘दोषीलाई कडा कारबाही होस्’ जस्ता नारा घन्काइएको थियो।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।