सप्तरी |
सप्तरीको तिरहुत गाउँपालिकामा भ्रमण खर्चसम्बन्धी नियमावलीको खुला उल्लंघन गर्दै करिब एक लाख रुपैयाँ अनियमित ढंगले भुक्तानी गरिएको खुलासा भएको छ। छिन्नमस्ता गाउँपालिकाका दुई कर्मचारीलाई कानुनी आधारविना भत्ता वितरण गरिएको तथ्य बाहिरिएपछि गाउँपालिकाको वित्तीय पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।
विक्रम सम्वत २०८० को विभिन्न मितिमा गरिएको भुक्तानीअनुसार, छिन्नमस्ता गाउँपालिकाका तत्कालीन जग्गा सर्वेक्षण नायब पंकज कुमार यादवलाई ४९ हजार तिन सय रुपैयाँ र श्याम नन्दन यादवलाई रु. ४० हजार आठ सय रुपैयाँ दिइएको छ। पंकज यादवलाई तिरहुतले चारवटा भ्रमण आदेश देखाएर रकम वितरण गरेको भए पनि, उनी स्थायी रूपमा छिन्नमस्तामै कार्यरत हुन्। श्याम नन्दन यादवलाई दिइएको रकमसम्बन्धी कुनै पनि कागजात संलग्न नगरिएको महालेखा परिक्षणको प्रतिवेदनले जनाएको छ।
सम्बन्धित समयमा तिरहुत गाउँपालिकामा अध्यक्ष विजय कुमार यादव, अधिकृत कुन्दन कुमार कर्ण र लेखापाल बल्लु कुमार अग्रहरी कार्यरत थिए। यी तीनै जनाको मिलेमतोमा रकम वितरण गरिएको मलेपमा उल्लेख गरिएको छ।
भ्रमण खर्चसम्बन्धी नियमावली २०६४ अनुसार, कार्यालयको कर्मचारीलाई कार्यालयको कामका लागि मात्र भत्ता दिन सकिने प्रावधान छ। तर, अर्काे पालिकाका कर्मचारीलाई बिना कानुनी आधार रकम वितरण गर्नु अनियमितता भएको स्थानीय सरोकारवालाहरूको आरोप छ। उनीहरूले तत्काल रकम असुल गर्न र संलग्न कर्मचारी तथा पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
स्थानीय स्रोतका अनुसार, तिरहुत गाउँपालिकामा यसअघि पनि सामग्री खरिददेखि भत्ता वितरणसम्म अनियमितता हुने गरेको छ। तर, आन्तरिक नियमन निकाय र लेखा समितिको कमजोर भूमिकाले जिम्मेवारहरूलाई अझ ढुक्क बनाएको देखिन्छ।”सोही विषयमा पालिका प्रमुख, पूर्व अधिकृत र लेखा शाखासँग फोन सम्पर्क गर्ने प्रयास गरिए तर सम्पर्क हुन सकेन।”
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।