पब्लिक प्रेस ।
राजविराज — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ।
क्षेत्रीय कमिटीको निर्णयअनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट सुमनराज प्याकुरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट ताराकान्त चौधरी पनि एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ बाट भने तीन जनाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा राजाराम यादव, पंचदेव खंग र मो. जियावुल रहमानको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ बाट गंगाप्रसाद चौधरी र देवनारायण चौधरीको नाम सिफारिस गरिएको छ।
जिल्ला कमिटीका अनुसार पार्टीको विधान, संगठनात्मक मूल्यांकन, राजनीतिक योगदान, जनसमर्थन र समावेशिताको आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो। सिफारिस भएका नामहरू अब प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइनेछ, जहाँ अन्तिम निर्णय हुनेछ।
एमाले सप्तरीले आगामी निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको मुद्दा केन्द्रमा राखेर प्रतिस्पर्धा गर्ने तयारी गरेको जनाएको छ। पार्टी नेतृत्वले उम्मेदवार छनोटमा स्थानीय आवश्यकता, राजनीतिक सन्तुलन र जित सुनिश्चित हुने आधारलाई प्राथमिकता दिइने स्पष्ट पारेको छ।









