समाचार

रामगोपालपुरमा सहकारी कार्यालय उदघाटन: नागरिक समाजको उत्साहपूर्ण सहभागिता

नविन निर्भय यादव ।

महाेत्तरी जिल्लाकाे रामगोपालपुर न.पा.-६ मा श्री शिव सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडको कार्यालय उदघाटन समारोह उत्साहपूर्ण वातावरणमा साेमबार सम्पन्न भएको छ।

समारोहका प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सरोज कुमार यादवले उदघाटन गर्दै सहकारी संस्थाहरूले महिलाहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि रामगोपालपुर नगरपालिका मेयर रामदुलार साहले सहकारी संस्थाहरूको विकासले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे। वडा अध्यक्ष शिवचन्द्र महतोले सहकारी संस्थाहरूलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

उदघाटन समारोहमा पार्टीका नेताहरू, नागरिक समाजका प्रतिनिधिहरू, युवाहरू र महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी संस्थाको स्थापनासँगै स्थानीय महिलाहरूको आयआर्जनमा वृद्धि हुने सम्भावनालाई उजागर गरे।

श्री शिव सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले स्थानीय महिलाहरूलाई उद्यमशीलता र कृषि क्षेत्रमा प्रोत्साहित गर्दै आर्थिक सशक्तिकरण र आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ। सहकारीले सदस्यहरूलाई आवश्यकताअनुसार तालीम प्रदान गर्ने, कृषि उपकरणहरूको पहुँच सुनिश्चित गर्ने, र आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने योजना अघि सारेको छ।

समारोहमा सहभागीहरूले सहकारी संस्थाको स्थापना स्थानीय समुदायको विकास र समृद्धिका लागि मीलका पत्थर सावित हुने विश्वास व्यक्त गरे। महिला दिदीबहिनीहरूले सहकारीमार्फत आफ्ना घरपरिवारको आर्थिक स्थितिमा सुधार ल्याउने अपेक्षा व्यक्त गर्दै सहकारीमा उत्साहजनक सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा विभिन्न सांस्कृतिक प्रस्तुति र वक्तव्यहरूले समारोहलाई अझ उत्साहजनक बनायो। उदघाटन समारोहले स्थानीय नागरिक समाज र युवाहरूमा सकारात्मक ऊर्जा प्रदान गरेको देखिन्छ।

यो सहकारी संस्थाले आगामी दिनमा ग्रामीण क्षेत्रका महिलाहरूको जीवनस्तर सुधार गर्न र समुदायमा सकारात्मक प्रभाव पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रमले सहकारीको महत्त्व योजनाको बारेमा जनचेतना अभिवृद्धि गर्ने कार्य पनि गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button