नविन यादव निर्भय
पब्लिक प्रेस ।
विगत केही दिनदेखि सप्तरीसहित तराई–मधेस क्षेत्रमा शीतलहरको प्रभाव तीव्र बन्दै जाँदा अत्यधिक जाडो बढेको छ। चिसोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय सप्तरीले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ। जाडोबाट बच्न तथा आगो ताप्ने प्रयोजनका लागि राजविराज नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक स्थानमा दाउरा वितरण गरिएको हो।
पहिलो चरणअन्तर्गत राजविराज नगरपालिका भित्रका जिल्ला सरकारी अस्पताल, आँखा अस्पताल, रूपनी मोड, गजेन्द्र चोक, दर्शन चोक लगायत भीडभाड हुने स्थानहरूमा दाउरा वितरण गरिएको वन कार्यालयले जनाएको छ। विशेष गरी अस्पताल परिसर र बजार क्षेत्रमा बिहान–साँझ आगो ताप्न आउने सर्वसाधारण, बिरामीका आफन्त, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी दाउरा उपलब्ध गराइएको हो।
डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत पंकज मिश्रका अनुसार शीतलहरको असर कायमै रहेसम्म आवश्यकता अनुसार थप स्थानमा पनि दाउरा वितरण गरिनेछ।
“जाडोका कारण जनस्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले निःशुल्क दाउरा वितरण गरिएको हो,” उनले बताए। वन कार्यालयको यस पहलप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया जनाएका छन्। जाडोबाट राहत मिलेको भन्दै उनीहरूले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तरता दिन माग गरेका छन्।










