औरही गाउँपालिका–३ स्थित श्री आधारभूत विद्यालय जमुवाले पछिल्ला दिनहरूमा चामत्कारिक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। करिब पाँच दशक अगाडि स्थापना भएको यो विद्यालय लामो समयसम्म शैक्षिक कमजोरी, दुर्व्यवस्था र अस्वस्थ वातावरणका कारण पछि परेको थियो।
एक समय यस्तो थियो जब विद्यालयमा शिक्षकहरूको लापरवाही, विद्यार्थीहरूको अनियमित उपस्थिति, आधारभूत शैक्षिक सामग्रीको अभाव, छात्रवृत्तिको दुरुपयोग र व्यवस्थापन समितिको अनुपस्थितिका कारण विद्यालय बन्द हुने अवस्था सिर्जना भएको थियो। बाध्यतावश अभिभावकहरूले आफ्ना सन्तानलाई पाँच किलोमिटर टाढाको विद्यालयमा पठाउनु परेको अवस्था थियो।
तर हाल औरही गाउँपालिका र आसमान नेपालबीचको सहकार्यमा सञ्चालित ‘मेयर शिक्षा समृद्धि कार्यक्रम’ अन्तर्गत विद्यालयले कायापलट अनुभव गरिरहेको छ। नयाँ व्यवस्थापन समिति गठनपछि विद्यालयको नेतृत्व युवाहरूले सम्हालेका छन्। समितिका अध्यक्ष रन्जिप कुमार सिंहको अगुवाइमा विद्यालयमा उल्लेखनीय सुधार देखा परेको छ।
हाल विद्यालयमा ७० देखि ८० जना विद्यार्थी नियमित रुपमा पढ्न आउने गरेका छन्। दिवा खाजा कार्यक्रमले विद्यार्थीको उपस्थिति र आकर्षण बढाएको छ। छात्रवृत्तिको रकम पारदर्शी रूपमा विद्यार्थीको पोशाक र शैक्षिक सामग्रीमा खर्च गरिँदा अभिभावकहरूको विश्वास पुनः जागृत भएको छ।
विद्यालयमा नयाँ ह्वाइटबोर्ड ल्याइएको छ भने शिक्षक र निमित्त प्राध्यापक थपिएका छन्। लामो समयदेखि बिग्रिएको शौचालयको मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइएको छ। भौतिक पूर्वाधारमा आएको परिवर्तनसँगै, शैक्षिक गुणस्तरमा पनि सुधार देखिन थालेको छ। परिणामस्वरूप, पहिले प्राइभेट विद्यालय गएका विद्यार्थीहरू फेरी आफ्नै विद्यालय फर्कन थालेका छन्।
अभिभावकहरू विद्यालयमा भएको परिवर्तनबाट हर्षित छन्। उनीहरू भन्छन्, “अब हामी हाम्रो विद्यालय छोड्दैनौं। हामी शिक्षाको मूल्य बुझिसकेका छौं र विद्यालयको उज्ज्वल भविष्यका लागि सधैं साथ रहनेछौं।”
श्री आधारभूत विद्यालय जमुवाको यो रूपान्तरण न केवल स्थानीय समुदायको प्रेरणा बनेको छ, बरु देशभरिका सामुदायिक विद्यालयहरूका लागि उदाहरणीय प्रेरणा स्रोत पनि भएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।